समाचार ठूला दलबाटै आचारसंहिता उल्लंघन
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, मंसिर ९ –आचारसंहिता विपरीत सार्वजनिक स्थलमा टाँगिएका प्रचार सामग्री निर्वाचन कार्यालयले हटाएको छ । आचारसंहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा राखिएको प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले दिएको अल्टिमेटमलाई अटेर गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरको टोली आफैले हटाएको छ ।

निर्वाचन अचारसंहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा राखिएका प्रचारका सामग्रीहरु राखिएको पाइएपछि क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलसहितको निर्वाचन अधिकृतहरुको टोलीले प्रचार सामग्री हटाएको हो । दुई दिन अगाडि सर्वदलीय बैठक गरेर २४ घण्टा भित्र आफ्नो पार्टीले राखेका प्रचार सामग्री हटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरेका दलहरु शनिबार निर्वाचन अधिकृतसहितको टोली अनुगमनमा निस्कँदा निरीह देखिन्थे ।

यसरी सार्वजनिक स्थलमा प्रचार सामग्री राख्नेमा नेपाली कांग्रेस पहिलो नम्बरमा रहेको बताएको छ । एमाले र माओवादीसँगै संघीय समाजवादी फोरमले पनि आचारसंहिता उल्लंघन गरेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । सबैभन्दा बढी मोरङ क्षेत्र नम्बर ३ मा सार्वजनिकस्थलमा प्रचार सामग्री राखिएको थियो । ठूला–ठूला पोस्टर र पम्प्लेटसहित दलका झण्डा अंकित प्रचार सामग्रीहरु राखिएको भेटिएको छ । त्यस्तै दलहरुले चुनावको प्रचारमा बालबालिकाको प्रयोग समेत बढाएका छन् । निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारको १ लाखसम्म जरिवाना वा उम्मेदवारीसमेत खारेज हुन सक्ने प्रावधान रहँदारहँदै पनि आयोगले कारबाही गर्न नसक्दा आचारसंहिताको उल्लंघनको घटना बढेको छ ।

उम्मेदवारहरुले स्वीकृती लिएकोभन्दा बढी सवारीको प्रयोग, भारतीय नम्बरका सवारीसाधनहरु बिना इजाजत प्रयोग, प्रचारमा बालबालिकाको प्रयोग, सार्वजनिकस्थलमा व्यापक पर्चा र पम्प्लेटसहितको प्रतिस्पर्धा देखिएको छ । यस्ता घटनाका कारण चुनावको समय नजिकिँदै गर्दा अप्रिय घटना हुने हो कि भन्ने आशंकामा सुरक्षा अधिकारीहरु छन् ।

 

Share It

Post Comments
थप समाचार