समाचार भोजपुरमा सधैं हार्ने कांग्रेसका ज्ञानेन्द्र सुनसरीबाट विजयी
Ujyaalo

काठमाडौं, मंसिर २५– भोजपुरमा पटक पटक पराजित भएका ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा विजयी हुनु भएको छ । अर्थमन्त्री समेत रहेनु भएका कार्की एमालेका रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतले पराजित गर्दै विजयी हुनु भएको हो ।

कार्कीले ३२ हजार ३ सय ४७ मत पाउँनु भयो भने एमाले उम्मेदवार रमेश श्रेष्ठले २५ हजार ७ सय ९७ मत पाउनु भएको छ ।ज्ञानेन्द्र जन्मथलो भोजपुर छाड्दै सुनसरी ४ बाट पहिलो पटक उम्मेदवार बन्नु भएको हो ।

पहिले भोजपुरमा प्रत्यक्ष चुनाव जित्न नसकेपछि २०७० सालको चुनावमा उहाँ समानुपातिकबाट सांसद बन्नु भएको थियो । २०६४ सालको चुनावमा भोजपुरबाट पराजित कार्की त्यसअघि २०६३ सालमा अन्तरिम सरकारको जलश्रोत राज्यमन्त्री बन्नु भएको थियो ।

देशको ३१ औं अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीको जन्म २०१२ सालमा षडानन्द नगरपालिका, वडा नं ११ देउरालीमा भएको हो । उहाँ काठमाडौंको हात्तीगौंडामा बस्दै आउनु भएको छ ।

लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय कार्की देउवापछि नेपाल बिद्यार्थी संघको अध्यक्षसमेत हुनु भएको थियो । कांग्रेस केन्द्रीय सदस्य हुँदै उहाँ कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा स्वकीय सचिव र शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा प्रमुख राजनीतिक सल्लाहकारसमेत बन्नु भएको थियो ।

उहाँले राजनीतिक जीवनमा पटकपटक गरेर झण्डै ४ वर्ष जति जेल जीवन बिताउनु भएको छ । भोजपुरबाट पटकपटक प्रत्यक्ष चुनावमा उम्मेदवार बन्दा सफल नभएका कार्की २०७० सालको चुनावमा कांग्रेसको तर्फबाट समानुपातिक सभासद् बन्नुभयो । यस पटकको चुनावमा उहाँ सुनसरी ४ बाट उम्मेदवार बन्नु भएको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका कार्की यसअघि २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा जलस्रोत राज्यमन्त्री हुनुभएको थियो । उहाँकी एक छोरी छिन् ।

 

Share It

Post Comments
थप समाचार