समाचार वाम गठबन्धनका सुत्रधार बामदेव हारे, अब वाम एकता के होला !
Ujyaalo

भावुक योगी/उज्यालो ।

बर्दिया, मंसिर २५ –वाम गठबन्धनका प्रमुख सुत्रधारको रुपमा रहनुभएका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाको क्षेत्र नम्वर १ बाट हार ब्यर्होर्नु परेको छ । देशैभरीबाट वाम गठबन्धनले जितिरहँदा बामगठबन्धनमा मुख्य भुमिका खेल्नु भएका गौतमले भने पराजय ब्यर्होर्नु परेको हो ।

वाम गठबन्धनका सुत्रधार समेत मानिनु भएका बामदेव गौतमको पराजयपछि अहिले धेरै शंका उपशंका उब्जिएको छ । बर्दियाका चोक चौतारा चिया पसलमा बामदेवको हारकै विषयमा चर्चा छ । केहीले बामदेवको हारले राजनीतिमा इमान्दारिता हुँदैन भन्ने कुरा पनि सिकाएको बताउँछन् ।

वाम गठबन्धनमा माओवादी केन्द्रका कार्यकर्ताले क्षेत्र नम्बर १ मा एमालेका बामदेवलाई मतदान गरी सहयोग नगरेको केहीको आरोप रहेको छ भने केहीको आरोप एमालेका कार्यकर्ताले पनि भोट दिएनन्, बामदेवलाई हराउने योजना केन्द्रबाटै पो हो की ? भन्ने शंका पनि उत्पन्न भएको छ ।

गठबन्धनका बारेमा र मत खसाल्ने तरिकाका बारेमा मतदातालाई वामले भोट हाल्ने तरिका नसिकाउँदा केही मतदाताले भोट दुई ठाउँमा हाल्नुले पनि मत बदर भएको अर्को कारण मानिन्छ । मतदाता शिक्षा टोलीले आलु, प्याज अर्थात उदाहरण्का चिन्ह देखाएर सिकाए, तर पार्टीले सिकाउँदा पनि नसिकाउँदा पनि अधिकांश मतदाता अलमलमा परेर दुई ठाउँमा भोट हाल्दा धेरै मत बदर भएको बताईन्छ ।

बामदेवको हारले कार्यकर्ताहरुमा निरासा त छाएको छ नै वाम गठबन्धनका सुत्रधार मानिनु भएका बामदेव गौतमको पराजयपछि अहिले अर्को शंका पनि उब्जिएको छ । बामदेवको हारपछि अब वाम गठबन्धन कम्युनिष्ट पार्टी एकता घोषणा हुने नहुने आशंका समेत देखिएको स्थानियको भनाई छ ।

यसै विषयमा एमाले बर्दिया अध्यक्ष हरि ज्ञवालीले भन्नुभयो, ‘आफू भित्रैबाट धोका भएको छ, अप्रत्यासित रुपमा हार बेहोर्नु परेको छ, अब आज हामी बस्छौँ, अनि समीक्षा गरेर मात्रै केही भन्नेछु’ बताउनुभयो ।

२०७० सालको चुनावमा बर्दिया र प्यूठानबाट चुनाव जित्नुभएका बामदेवले बर्दिया छाडेर प्यूठान रोजेपछि उहाँको क्षेत्रका नागरिक रुष्ट भएका थिए । यसपटक पनि गौतमले प्यूठानबाट उठ्ने बताउनु भएको थियो । तर वाम गठबन्धनका कारण प्यूठानमा जनमोर्चालाई सघाउने निर्णय भएपछि उहाँ बर्दियाबाट चुनाव लडनु भएको हो ।

स्थानीय तहको निर्वाचनमा झण्डै ३० हजार मतले अघि रहेको उहाँको राम्रो पकड मानिएको बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका जिल्ला सभापति एवं बहालवाला सिञ्चाईमन्त्री सञ्जयकुमार गौतमले ४४ हजार ८ सय २९ मत ल्याएर विजयी हुनुभयो । गौतम ७ सय ५३ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी एमाले उपाध्यक्षसमेत रहनुभएका बामदेव गौतमलाई पछि पार्दै विजयी हुनु भएको हो । बामदेवले ४४ हजार ७६ मत मात्र प्राप्त गर्नुभयो ।

Share It

Post Comments
थप समाचार