समाचार मतदान केन्द्र अपांगमैत्री नहुँदा समस्या
Ujyaalo

इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, मंसिर ९ –बैतडीमा अपांगमैत्री मतदानकेन्द्र नहुदा अपांगता भएका व्यक्तिलाइ समस्या हुने भएको छ । बैतडीमा रहेका १८२ ओटा मतदान केन्द्रमध्ये एउटा मात्रै अपांगमैत्री मतदान केन्द्र रहेको छ ।

दशरथचन्द नगरपालिका वडा नम्बर –१, गुरुखोला देउमाडामा रहेको शोभा माविमा अपांगमैत्री मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । एउटै अपांगमैत्री मतदान केन्द्र पनि गाउँभित्र रहेकाले अपांगता भएका व्यक्तिलाई केन्द्रमा पुग्न समस्या हुने गरेको छ । सडकभन्दा टाढा रहेकाले ह्वीलचेयर मार्फत जान नसकिने भएकाले अपांगमैत्री मतदान केन्द्रमा अपांगता भएका व्यक्ति पुग्न नसक्ने जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिनुभयो । मतदान केन्द्रहरु अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिहरु मताधिकारबाट वञ्चित हुने देहिमाण्डौका सुरेन्द्र बोहराले बताउनुभयो ।

जिल्लामा अपांगता भएका व्यक्ति पनि धेरै भएकाले उनीहरुलाई भोटहाल्न समस्या हुने उहाँले बताउनुभयो । अपांगता भएका व्यक्तिहरु सहजै पुग्न सक्ने ठाउँमा मतदान केन्द्र नहुँदा अपांगता भएका व्यक्तिहरुले मतदान गर्न नपाउने भएका छन् । महिला कर्मचारी मात्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि बैतडीमा १८२ वटा मतदान केन्द्रमध्ये एक केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ ।

जिल्लाको दरशथचन्द नगरपालिका सुन्दरखालीमा रहेको दशरथचन्द मावि केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । महिला विकास अधिकृत अनिता बुढाऐरको नेतृत्वमा ८ जना महिला कर्मचारी खटाइएकोे उहाँले बताउनुभयो । मतदान अधिकृतको रुपमा खटिएका अनिता बुढाऐरले सबै महिला कर्मचारीले उत्कृष्ट कार्य सम्पादन गर्ने बताउनुभयो ।

त्यस मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रुपमा निर्मला खनाललाई खटाइएको छ भने अन्य सहायक कर्मचारी पनि महिला मात्रै रहेको मतदान अधिकृत बुढाऐरले जानकारी दिनुभयो । जिल्लाको नमुना केन्द्रको रुपमा महिला केन्द्र स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । जिल्लाका अन्य मतदान केन्द्रमा पनि भोलि हुने चुनावको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार