समाचार मतदान केन्द्रमा चहलपहल सुरु
Ujyaalo

काठमाडौं, मंसिर १० – पहिलो चरणको ३२ जिल्लामा सात बजेदेखि हुने मतदानका लागि मतदान केन्द्रमा बिहानैदेखि चहलपहल सुरु भएको छ । कतिपय मतदाता मतदान केन्द्रमा पुगिसकेका छन् भने अरु मतदाताहरु घरबाट हिँड्दैछन् ।

सातबजेदेखि सुरु हुने मतदानका लागि टाढा टाढा घर भएका मतदाताहरु निस्किसकेका छन् । मतदाता परिचयपत्र लिएर बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने छ । कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका वा हराएको भए अरु परिचय पत्रको आधारमा पनि मतदान गर्न सकिने प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।

३२ जिल्लामा हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा ढुक्क भएर मतदान गर्न सबै मतदातलाई निर्वाचन आयोगले आग्रह गरेको छ । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदाताले लाइन बस्न नपर्ने आयोगले जनाएको छ ।

यस्तै, दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आइतबारहुने हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ ७ सय २ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । ३१ लाख ९१ हजार ९४५ मतदाताका लागि २ हजार ९ सय १९ मतदानस्थलामा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

आयोगले चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन राजनितिक दल, मतदाता, पत्रकार, अनुगमनकर्ता लगायत सबैसँग सहयोगको आग्रह पनि गरेको छ । आइतबार हुने चुनावमा मतदाताले ३ वटा मतपत्रमा चार ठाउँमा मत दिनुपर्छ । पहिलो चरणको चुनावमा ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्यका लागि मतदान हुदैछ ।

 

Share It

Post Comments
थप समाचार