समाचार गोला प्रथाबाट मतदान अधिकृत र सहायक अधिकृत छानियो
Ujyaalo

दाङ, मंसिर १२ – मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले मतदान अधिकृत र सहायक मतदान अधिकृतको टुंगो लगाएको छ । निजामती कर्मचारीहरुबाट अधिकृत र नायब सुब्बा स्तरका कार्यचारीहरुलाई मतदान अधिकृत र प्रावि तथा निमाविका शिक्षकसँगै अन्य कर्मचारीलाई सहायक मतदान अधिकृतको रुपमा हरेक मतदान केन्द्रको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

कर्मचारीको जिम्मेवारीलाई निष्पक्ष बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथाबाट मतदान केन्द्रको जिम्मेवारी दिएको छ । भनसुन धेरै हुने, तोकिएको क्षेत्रमा नजाने भएपछि निष्पक्ष रुपमा कर्मचारी परिचालनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाबाट जिम्मेवारी दिएको रावलले जानकारी दिनुभयो ।

दाङमा तीनवटा निर्वाचन क्षेत्रको मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक भएको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले अधिकृतको नामावली सार्वजनिक गरेका हुन् । दाङमा निर्धारण गरिएका ३ सय ९४ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई तालिम दिइएको छ । दाङमा ३ हजार १ सय ५२ कर्मचारी चुनावमा खट्ने भएका छन् ।

 

Share It

Post Comments
थप समाचार