समाचार बझाङका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाममा
Ujyaalo

डीबी विष्ट/उज्यालो ।

मंसिर, बझाङ १२ – बझाङको विकट तथा हिमाली गाउँपालिका काँडामा रहेका ३ वटा मतपेटिका मंगलबार बिहान हेलिकप्टरबाट सदरमुकाम चैनपुर ल्याइएको छ । सोमबार वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले हेलिकप्टरमा मतपेटिकासँगै आफूहरुले पनि जान पाउनु पर्ने भनेपछि विवाद भएको थियो ।

विवाद साम्य भए पछि मंगलबार बिहान हेलिकप्टरबाट ३ वटै मतपेटिका सुरक्षित तरिकाले सदरमुकाम चैनपुर ल्याइएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताउनुभयो । मतपेटिकासँग मतदान अधिकृत मात्र आएका र अन्य कर्मचारी र राजनीतिक दलका प्रतिनिधि हिँडेर नै सदरमुकाम चैनपुर आउने प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । काँडाबाट सदरमुकाम चैनपुर पुग्न ३ दिन लाग्छ ।

बझाङ जिल्लाका १६० मतदान केन्द्रका ४८० मतपेटिका जिल्ला पशु सेवा कार्यलयको हलमा राखिएका छन् । मतेपेटिका भएको ठाँउहरुमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । मतपेटिका भएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीले सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार