समाचार समावेशिताको सन्देश दिन दुई मतदान केन्द्र महिला कर्मचारीको जिम्मामा
Ujyaalo

दाङ, मंसिर ११ – दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा दाङका दुईवटा मतदान केन्द्रको जिम्मा महिलालाई मात्रै दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार निर्वाचन क्षेत्र नम्बर २ भित्र दुईवटा मतदान केन्द्रको चुनाव गराउने जिम्मा महिलालाई मात्रै दिएको हो ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराही उपमहानगरपालिका –१७ गोरक्ष रत्ननाथ मावि चौघेरा ‘क’ मा चुनाव गराउनका लागि मतदान अधिकृत लक्ष्मी सैजु र सहायक मतदान अधिकृतमा इच्छा महतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारी दिएको छ ।

घोराही उपमहानगरपालिका –११ खैरामा रहेको बालकल्याण आधारभूत बिद्यालयको ‘ख’ मतदान केन्द्रमा लक्ष्मि ढकाल मतदान अधिकृत र प्रतिज्ञा पुनलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएकोे छ ।

यी दुईवटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी पनि महिलामात्रै परिचालन हुने गरि तयारी गरिएको उहाँले बताउनुभयो । समावेशिता र महिलालाई जुनसुकै कामको नेतृत्व गर्न सक्षम छन् भन्ने सन्देश दिन महिला कर्मचारीलाई मात्रै जिम्मेवारी दिएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार