समाचार मतपरिणामको पर्खाइमा लमजुङका मतदाता
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर १४– मंसिर १० गते भएको प्रतिनिधि र प्रदेशसभाको पहिलो चरण चुनावका सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपेटिकालाई सुरक्षित राख्न सुरक्षा व्यवस्था कडा पारिएको छ । लमजुङका १ सय ६५ मतदान केन्द्रका ४ सय ९५ मतपेटिकामध्ये प्रतिनिधिसभाका १ सय ६५ र समानुपातिकका १ सय ६५ मतपेटिका साविक जिविसको सानो हलमा राखिएको छ ।

प्रदेशसभा ‘क’ र ‘ख’ दुबैको गरी १ सय ६५ मतपेटिका पनि छुट्टाछुट्टै कोठामा सिलबन्दी गरी राखिएको छ । कुल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहको लमजुङमा ७७ हजार ३ सय २० मत खसेको थियो ।

नागरिकमा छटपटी

उत्साहका साथ चुनावमा भाग लिएका लमजुङका मतदाता आफूले हालेको मत थन्किएर बसेको देख्ला छटपटिएका छन् । सुन्दरबजार नगरपालिका –८ का राजन परियार भन्नुहुन्छ ‘आफूले हालेको मतको छिट्टो परिणाम आए हुन्थ्यो भन्ने लागेको छ ।’ नागरिकमा मात्र होईन राजनीतिक दल तथा उम्मेदवार पनि मत परिणामको व्यग्र प्रतिक्षामा छन् ।

रातदिन खडा

मतपेटिका सुरक्षाको लागि लमजुङमा सिसिटिभीको साथमा पहिलो घेरामा नेपाल प्रहरी, दोश्रोमा सशस्त्र प्रहरी र तेश्रोमा नेपाली सेना खटिएका छन् । मतपेटिका राखिएको स्थानसम्म जान खोज्नेलाई सोधपुछ गरी जानैपर्ने काम भएकालाई मात्रै जान दिइएको छ । दलका प्रतिनिधिले मतपेटिका राखिएको कोठाबाहिर बसेर मतपेटिका कुरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले मतपेटिका कुर्नका लागि आ–आफ्ना प्रतिनिधि खटाएका छन् ।

मतपेटिका कुर्न नेपाली कांग्रेसले आफ्नो भातृ संगठन भूपू सैनिक संघलाई जिम्मेवारी दिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सचिव हरि बरालले भन्नुभयो ‘मतपेटिका कुर्न भूपू सैनिक संघलाई जिम्मा लगाएका छौँ, उनीहरुले पालैपालो मतपेटिका कुरेका छन् ।’

वाम गठबन्धनले पनि मतपेटिका कुर्न आफ्ना प्रतिनिधि खटाएको छ । एमालेका दुईजना, माओवादी केन्द्रका दुईजना गरी मतपेटिका कुरेका छन् । ‘रातदिन नभनी उनीहरु मतपेटिका कुरेर बसेका छन्’ , नेकपा माओवादी केन्द्रकी जिल्ला संयोजक मधु अधिकारीले भन्नुभयो ।
दोश्रो चरण चुनाव सकिए पछि मात्रै पहिलो चरणमा चुनाव भएका जिल्लामा मतगणना गरिने छ ।

Share It

Post Comments
थप समाचार