समाचार आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँको ठाउँ कारवाही हुने
Ujyaalo

काठमाडौं, मंसिर १५ – चुनावमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्न निर्वाचन आयोगले शुक्रबारदेखि सुक्ष्म अनुगमनकर्ता खटाएको छ । आयोगले आवश्यक ठानेका ठाउँमा अनुगमनकर्ता खटिनेछन् ।

आयोगका अनुसार ८८ जना उपसचिवस्तरका कर्मचारी सुक्ष्म अनुगमनमा खटिनेछन् । उनीहरुले चुनावमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्नेछन् र पालना नभएको पाइए तुरुन्तै निर्वाचन आयोगलाई जानकारी गराउनेछन् ।

आचारसंहिता पालना नभएको पाइएमा ठाउँको ठाउँ कारवाही गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । पहिलो चरणको चुनावमा दलका नेता कार्यकर्ता तथा उम्मेदवारले पनि आचारसंहिता पालना नगरेको गुनासो बढेपछि दोस्रो चरणको चुनावका लागि आयोगले अनुगमनकर्ता खटाएको हो ।

दोस्रो चरणको चुनाव आउँदो २१ गते ४५ जिल्लामा हुँदैछ । दोस्रो चरणमा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।

यसैबीच निर्वाचन आयोगले दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्थाको बारेमा शुक्रबार सुरक्षा निकायसँग छलफल गर्दैछ । चारवटै सुरक्षा निकायका प्रमुख र सम्बन्धित मन्त्रालयका उच्च पदाधिकारीसँग दिउँसो १ बजे आयोगमा नै छलफल हुन लागेको हो ।

चुनावका बेला देशका विभिन्न ठाउँमा बम विस्फोटको घटना बढेपछि सुरक्षाको बारेमा छलफल हुन लागेको हो । सरकारले सुरक्षा व्यवस्था कडा पारेको जनाएपनि ठाउँ ठाउँमा विस्फोटको घटना भैरहेको छ ।

 

Share It

Post Comments
थप समाचार