समाचार गोकर्ण बिष्टको चुनावी भाषण – ‘मलाई कसैलाई गाली गर्ने फुर्सद छैन’
Ujyaalo

गुल्मी, मंसिर १५ – चुनाव प्रचारप्रसारका क्रममा ठूला आमसभा गर्ने र विपक्षीलाई भाषणमार्फत विरोध गर्ने कुरा नौलो होइन । अझ झुटा आश्वासन बाँडेर भाषण र आफ्नो जितपछि आफ्नो क्षेत्रमा विकासको मूल फुटाउने घोषणा गर्ने उम्मेदवारहरुको पनि यतिखेर कमी छैन । चुनावी प्रतिष्पर्धामा उत्रिएका बिभिन्न दलका नेता तथा उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउन विपक्षी दल तथा उम्मेदवारप्रति आरोप नै मुख्य हतियार बनाएको पाईन्छ । तर यस्ता पनि उम्मेदवार छन्, जो प्रतिस्पर्धीलाई एक शब्द पनि आरोप लगाउँदैन ।

गुल्मी प्रतिनिधिसभा क्षेत्र नम्वर २ बाट वाम गठबन्धनका साझा उम्मेदवार गोकर्ण बिष्ट यस्तै उम्मेदवारमा पर्नुहुन्छ । नेकपा एमालेका केन्द्रीय सचिव एवम पूर्व उर्जामन्त्री विष्ट अहिले प्रचार–प्रसारका क्रममा आफ्नो क्षेत्रका मतदाताहरुलाई भेट्न र मत माग्न व्यस्त हुनुहुन्छ ।

चुनावी आमसभा भन्दा घरदैलो कार्यक्रमलाई नै बढी समय दिएका उहाँ गठबन्धनका प्रदेश सभाका उम्मेदवारसँगै मतदाताको खेतबारीसम्मै पुगेर सबैलाई भेट्ने गर्नुभएको छ । उहाँका मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका पूर्व जिविस सभापति चन्द्र केसी हुनुहुन्छ । चुनावी अभियानमा रहेका गोकर्ण विष्टले भोट माग्ने क्रममा न त आफ्ना प्रतिस्पर्धी चन्द्र केसीबारे टिप्पणी नै गर्नुहुन्छ, न त नेपाली कांग्रेसकै आलोचना गर्नुहुन्छ । केन्द्रमा शालिन र सदाचारी नेताको छवी बनाएका विष्टको प्रचार शैली पनि त्यस्तै छ ।

ससाना भेटघाट तथा घरदैलो सहित चुनावी अभियानमा रहेका विष्टले मतदातालाई भेटेर सबैभन्दा पहिले उनीहरुका समस्या तथा गुनासाहरु सुन्ने गर्नुभएको छ । मतदाताको गुनासोहरु सुनिसकेपछि त्यस क्षेत्रका लागि आफूले अहिलेसम्म गरेका विकास निर्माण र आगामी योजनाहरुकोबारेमा मतदाताहरुलाई जानकारी गराउनुहुन्छ । साथै मतदाताले देखाएका समस्या समाधानको प्रतिवद्धता व्यक्त गर्दै मत दिन अनुरोध गर्नुहुन्छ ।

अरु उम्मेदवारहरु भन्दा फरक शैलीमा मतदातासँग भेटघाट गर्ने नेता विष्टको चुनावी कार्यक्रममा विपक्षीहरु पनि सहभागी हुन्छन । अरुलाई गाली गलौज नगर्ने भएकाले मदाने गाउँपालिका १ अग्लुङ्गमा गोकर्ण बिष्टको चुनावी सभामा पूर्व सासंद बैकुण्ठ बहादुर चन्द आफू पनि आएको बताउनुभयो ।

चुनावी कार्यक्रममा रहेका विष्टले पनि अरुलाई गाली गलौज र आरोप लगाएर मन जित्न नसकिने बताउनुभयो । ‘मलाई कसैलाई गाली गर्ने फुर्सद पनि छैन’ विष्टले भन्नुभयोे, ‘अरुले गाली गर्छन् म त नागरिकको मन जितेर विकास निर्माणका काम गर्न नै फुर्सद छैन ।’
उहाँले गाली गर्ने जिम्मा अरु विपक्षी दलका उम्मेदवारहरुलाई भएको पनि बताउनुभयो ।

Share It

Post Comments
थप समाचार