समाचार चिसो मौसमलाई बेवास्ता गर्दै, मतपरिणाम पर्खाइमा मनाङका नागरिक
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर १५– हिमाली जिल्ला मनाङमा चिसो बढ्दै छ । तर नागरिकहरु चिसोको बेवास्ता गर्दै मत परिणामको पर्खाइमा बसेका छन् । गएको मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतपरिणामको पर्खाईमा मनाङका नागरिक चिसो बढे पनि लेकमा नै बसेका हुन् ।

काठमाडौँ, पोखरा, चितवनलगायतका ठाउँबाट चुनावमा मतदान गर्न आएका मतदाताहरु शहर फर्किसकेको स्थानीय पशुपति अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय बासिन्दा भने चुनावको परिणाम सार्वजनिक भएपछि मात्रै जाडो छल्न बेसी झर्ने छन् । विशेषगरी माथिल्लो मनाङका बासिन्दा चिसो बढेपछि बेसी झर्ने गर्दछन् ।

चामे, नेस्याङ र विकट मानिएको नारफु गाउँपालिकाका बासिन्दा चिसो छल्न काठमाडौं, पोखरा, चितवनलगायतका शहरमा झर्ने गर्दछन् । चिसो छल्न बेसी झरेका उनीहरुले त्यहाँ व्यापार गर्दछन् ।

स्थानीय सञ्चारकर्मी नेगम परियारका अनुसार विभिन्न शहरबाट चुनावमा मतदान गर्न आएका मतदाताहरु शहर फर्किसकेका छन् । स्थानीय बासिन्दा भने चुनावको परिणाम सार्वजनिक भएपछि विजय र्यालीमा सहभागी भएर जाडो छल्न बेसी झर्ने बताएका छन् ।

नासोङ गाउँपालिकाका बासिन्दा भने चिसो छल्न बेसी झर्ने नगरेको नासोङ गाउँपालिका–१, ताँचेकी स्नेहा घलेले बताउनुभयो ।

मनाङमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र वाम गठबन्धनबाट एमालेका पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा ‘क’ मा कांग्रेसका चिन्तबहादुर घले र एमालेका दोर्जे डेण्डुल गुरुङबीच चुनावी प्रतिष्पर्धा भएको हो ।

यसैगरी प्रदेशसभा ‘ख’ स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनिने राजिव गुरुङ र कांग्रेसका कर्म गुरुङबीच चुनावी प्रतिष्पर्धा भएको थियोे । मनाङमा कूल मतदाता संख्या ५ हजार ८ सय ८१ रहेकोमा ४ हजार ३ सय २१ मत मात्रै खसेको थियो ।

Share It

Post Comments
थप समाचार