
शुभ नारायण यादव/ उज्यालो ।
सप्तरी, मंसिर १६ – सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडाका मुसहर समुदायले चर्पी बनाइदिने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् ।
सरकारले सन् २०१७ भित्रमा देशलाई खुल्ला दिसा मुक्त बनाउने लक्ष्य लिएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अहिले जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपालद्धारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रमले सफलता पाउँदै गएको छ । चर्पी नबनाउनेलाई जरिवाना लिन थालेपछि उम्मेदवाहरु भोट माग्न जाँदा त्यहाँका मुसहर समुदायहरुले चर्पी बनाइदिने उम्मेदवारलाई मात्र आफनो भोट दिने बताएका हुन् ।
स्थानीय बासिन्दा कपिल सदाले चुनावको समयमा विभिन्न प्रलोभन दिएर आफूहरुसँग भोट लिने गरेको तर विजयी भएपछि सुकुम्बासी, दलितहरुलाई हेर्न कोही पनि नजाने गरेको जानकारी दिनुभयो । अहिले सरकारले चर्पी बनाउन दबाब दिइराखेकाले आफूलाई जुन उम्मेदवारले चर्पी बनाई दिन्छ त्यसैलाई मात्र भोट दिने बताउनुभयो । उहाँको दुखेसो छ, ‘आफ्नो एक एक धुर जग्गा पनि छैन, कहाँबाट जग्गा र पैसा ल्याउने र कहाँ कसरी चर्पी बनाउने ?’
उहाँ जस्तै अर्का बच्चा सदा भन्छन ‘मत लिएर विजयी भएका जो कोही उम्मेदवार पनि भोट माँग्ने बेलामा खुटा ढोक्छन, तर उही उम्मेदवार विजयी भएर गएपछि एकपटक पनि आफूहरुको समस्या बुझ्न आएको छैन ।’
साबिकको छिन्नमस्ता गाबिसमा झण्डै पाँच सय दलित परिवारको बसोबास रहेका छ । तर सरकारको लक्ष्य अनुरुप अहिले त्यहाँका दलित समुदायलाई पनि एक घर एक चर्पी निर्माणको लागि दबाव दिइरहेको बेलामा मुसहर तथा अन्य दलित समुदायको एउटै आवाज छ ‘जसले चर्पी बनाइ दिन्छन्, त्यसलाई मात्र आफूहरुले भोट दिने छौं ।’