समाचार माधव नेपाललाई भोट माग्द प्रचण्ड घरदैलोमा : नेपाल र प्रचण्डले गरे एकअर्काको प्रशंसा
Ujyaalo

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, मंसिर १६ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजानका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता माधवकुमार नेपालका लागि भोट माग्न शनिबार बिहान काठमाडौंको पेप्सिकोला क्षेत्रमा घरदैलो अभियानमा सहभागी हुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले अब देशलाई स्थिरता र विकासको बाटोमा लैजानुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालका लागि भोट माग्दै भन्नुभयो ‘माधव नेपाल जी शान्ति सम्झौताका लागि सबैभन्दा बढी योगदान गर्ने व्यक्ति हुनुहुन्छ । तत्कालीन समयमा उहाँ र मैले निकै जोखिम मोलेर भए पनि भारतका विभिन्न ठाउँमा भेतवार्ता गरी शान्ति सम्झौतालाई सार्थक रुप दिएका हौँ ।’

देशलाई शान्तिको बाटोमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने नेता नेपालको आवश्यकता अब आर्थिक विकास र समृद्धिको बाटोमा देशलाई लैजानका लागि पनि रहेकाले उहाँलाई भोट दिन प्रचण्डले मतदातासँग आग्रह गर्नुभयो । प्रचण्डले पहिलो चरणमा चुनाव भएको ३७ निर्वाचन क्षेत्रमा वाम गठबन्धनको दुई तिहाई जित सुनिश्चित रहेको दाबी गर्दै अब दोस्रो चरणमा चुनाव हुने क्षेत्रमा पनि वाम गठबन्धनलाई त्यस्तै मतको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

यस्तै काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार नेपालले सुशासन र विकास निर्माणका काममा हुने ढिलासुस्ती हटाउनका लागि वाम गठबन्धनको विकल्प नरहेको बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा सहभागी भएका माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै भन्नुभयो ‘म चितवन गएको थिएँ, त्यहाँ उहाँको जित सुनिश्चित छ । उहाँ नेपाली राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने व्यक्ति हो ।’

नेता नेपालले प्रचण्ड र आफू दुई (शान्तिपूर्ण र सशस्त्र) आन्दोलनको प्रतिक रहेको पनि बताउनुभयो । घरदैलो अभियानमा प्रचण्ड र नेता नेपालसहित एमाले तथा माओवादीका अरु नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

 

Share It

Post Comments
थप समाचार