समाचार काठमाडौं–४ मा गगन थापा कि राजन भट्टराई ?
Ujyaalo

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, मंसिर १८ – काठमाडौं क्षेत्र नम्बर ४ मा दुई युवा नेताबिचको प्रतिस्पर्धाले निकै रोचक बनेको छ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा र एमालेका युवा नेता डा. राजन भट्टराई प्रतिनिधिसभाका सदस्यका लागि चुनावी मैदानमा हुुनुहुन्छ ।

थापा यसअघि २०७० सालको संविधानसभा चुनावमा त्यसै क्षेत्रबाट भारी मतका साथ विजय हुुनुभएको थियो भने भट्टराई परराष्ट्र मामिलाका विज्ञका रुपमा संविधानसभामा मनोनित हुनुभएको हो । गगन थापा पहिलो संविधानसभामा कांग्रेसको समानुपातिक कोटाबाट सभासद हुनुभएको थियो ।

एउटै उमेर समूहका दुई नेताबिचको प्रतिस्पर्धामा कसले कसलाई चुनावीमा रिङमा पछार्ला ? यो प्रश्न त्यस क्षेत्रमा मात्र नभइ देशैभर चासोको विषय बनेको छ । दुवै नेता विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा आएका हुन् । गगन थापा जसलाई नेपाली राजनीतिमा भाषण राम्रो नेताका रुपमा लिइन्छ । थापाका भाषणले राष्ट्रिय रुपमै बहस सिजर्ना गर्दै आएको छ ।

अर्कोतर्फ भट्टराई शान्त र शालिन बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । काठमाडौं महानगरपालिकाको वडा नं. १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १, २, ८, ९, १०, ११, १२ र १३ मा फैलिएको यो क्षेत्रमा ४० हजार मतदता छन् । गएको स्थानीय तहको चुनावमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा वाम गठबन्धन बलियो छ ।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा एमालेले १७ हजार दुई सय ३९, माओवादी केन्द्रले ४ हजार ८७ गरी २१ हजार तीन सय २६ मत पाएको छ भने कांग्रेसले १४ हजार ७६ र राप्रपाले एक हजार सात ७३ गरी १५ हजार आठ सय ४९ मत पाएको छ । यस हिसाबले भट्टराई बलियो देखिए पनि स्थानीय चुनाव र आसन्न चुनाव फरक हो भन्ने कुरा सबैले बुझेका छन् ।

अर्कोतर्फ पूर्णत शहरी इलाकामा पर्ने यो क्षेत्रमा व्यक्ति र चुनवी एजेण्डाले पनि उत्तिकै प्रभाव पार्ने पक्का छ । २०७० सालको चुनावामा थापाले त्यसै क्षेत्रमा एमालेका उम्मेदवार निर्मल कुइँकेललाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको थियो । दुवै जनाले क्षेत्रको विकास निर्माण र धुलोधुवा मुक्त बनाउने प्रतिबद्धतालाई नै मुख्य चुनावी एजेण्डा बनाएका छन् । यी दुई प्रतिस्पर्धीले सामाजिक सञ्जालमा यति धेरै मिहिनत गरेका छन् कि सायदै देशका अरु निर्वाचन क्षेत्रका उम्मेदवारले गरेका होलान् ।

दुई युवा नेताबीच अरु धेरै विषयमा पनि समानता भेटिन्छ । दुवैको जन्म काठमाडौं बाहिर भए पनि विद्यार्थी राजनीतिसँगै त्यसै निर्वाचन क्षेत्रका स्थायी बासिन्दा भएका हुन् । थापा सोलुखुम्बुमा जन्मेका हुन् भने भट्टराई सिन्धुपाल्चोकमा । त्यस क्षेत्रमा सिन्धुपाल्चोक र सोलुबाट आएर बस्ने मतदाता निर्णायक मानिन्छन् । जसले गर्दा मतदातामा पार्टी, एजेण्डा भन्दा पनि जिल्लागत निकटताले बढी प्रभाव पार्ने देखिन्छ ।

२०६२/०६३ को जनआन्दोलन पछि नै दुवैजनाले नेपाली राजनीतिमा फरक पहिचान बनाएका हुन् । थापाले स्वास्थ्य भएर काम गरिसक्नुभएको छ । भट्टराई भने माधव नेपाल सरकारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुनुभएको थियो ।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका भट्टराई नेपाल भारत प्रबुद्घ समूहको सदस्य हुनुहुन्छ । जसले गर्दा काठमाडौं–४ का मतदाताले कसलाई रोज्लान अहिले नै अनुमान लगाउन कठिन छ ।

 

Share It

Post Comments
थप समाचार