समाचार सुकुम्बासी मतदाता भन्छन् : लालपूर्जा दिनेलाई भोट
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो ।

विराटनगर, मंसिर १८ – मोरङको पथरी शनिश्चरे नगरपालिका–९ कुसेका फूलबहादुर लिम्बु घाम ताप्दै चोया काड्दै हुनुनुहन्छ । ४७ वर्षदेखि यो गाउँमा बस्दै आए पनि उहाँको नाममा एकधुर पनि जग्गा छैन । पहाडबाट झरेदेखि नै आफ्नो बुवाआमाले खेती किसानी गर्दै आएको १० कठ्ठा जग्गा भने उहाँले उपयोग गरिरहनु भएको छ । तर त्यो जग्गाको लालपूर्जा उहाँसँग छैन । त्यसले आफूलाई लालपूर्जा दिन सक्ने उम्मेदवारलाई भोट हाल्ने लिम्बुको योजना छ ।

लिम्बु त प्रतिनिधि पात्र मात्र हुन्, मोरङको पथरी, शनिश्चिरे, हसन्दह र वयरवनका चार गाउँका सबैको समस्या एकै खालको छ । चार दशकदेखि यो समस्या झेल्दै आएका सुकुम्बासी बस्तीका बासिन्दामा सधैँ एउटै चिन्ता हुन्छ, जग्गाधनी पूर्जा हातमा पर्ने हो कि हैन । यसअघिको चुनावमा जग्गाधनी पूर्जा दिलाउने आश्वासनमा धेरै उम्मेदवारले मत फुत्काएका थिए । तर ती आश्वास कहिल्यै पूरा नभएको नारायणकुमारी लिम्बुको गुनासो छ ।

अहिलेका यी बस्ती ५० वर्षअघि जंगल थियो । संखुवासभा, भोजपुर, ईलाम, पाँचथरबाट मधेस झरेकाहरुले जंगल फाँडेर खेती किसानी गर्न थाले । जग्गाधनी पूर्जा बिहीन भए पनि यी परिवारले जग्गा प्रयोग गरेको घरधुरी कर भने तिर्दै आएका छन् । जग्गा एउटै, तर स्वामित्व र भोगचलन फरक–फरक व्यक्तिले गरिरहेका कारण पथरी, शनिश्चरे, हसन्दह र बयरवनमा बासिन्दा दोहोरो स्वमित्वको विवादमा पनि रुमलिँदै आएका छन् ।

स्थानीय रामबहादुर पालुङ्गा आफूहरुको यो समस्याको बारेमा कसैले पनि काम नगरेको गुनासो गर्नुहुन्छ । सरकारले अनेकन प्रयास गर्दा पनि विवाद मिलाउन सकेको छैन । पञ्चायत कालमा सरकारले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र, इलामको बाँझो, चुलाचुली र मोरङको हम्सेदुम्से एवं चन्दनेका बासिन्दालाई साविकको चार गाविसमा पर्ने क्षेत्रमा स्थानान्तरण गरेको थियो । त्यतिबेला सरकारले झण्डै ५ सय घर परिवारलाई मोरङको केचना/बयरवन क्षेत्रमा राखेको थियो ।

तर पछिल्ल्लो समय भू–माफियाको कारण यो क्षेत्रमा अहिले जग्गा एउटाको उपयोग गरिरहे पनि जग्गाधनी पूर्जा अर्कैको नाममा रहने गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भानुभक्त राईले सट्टाभर्ना पाई आएका हकवालाहरुले जग्गाका धनी पूर्जा पाए पनि भोगचलन गरिरहेकाहरुले भने अहिलेसम्म धनी पूर्जा नपाएको बताउनुभयो ।
स्थानीय स्तरबाट पटक पटक समस्या समाधानको पहल भए पनि असफल हुँदै आएको छ ।

झण्डै ५० वर्षदेखि बस्दै आएकाहरुलाई लालपूर्जा दिलाउने उम्मेदवारहरुको हरेक चुनावमा चुनावी नारा हुने गरेको छ । तर चुनिएर गएपछि समस्या समाधानमा कसैले काम गरेको पाइँदैन । हिमाली र उच्च पहाडी जिल्लामा मतदान सकिए पनि पहाडी तराईका जिल्लाहरुमा उम्मेदवारहरु यो बेला मतदाता आफ्नो पक्षमा पार्न लागि परेका छन् ।

 

Share It

Post Comments
थप समाचार