समाचार धनकुटामा मौन अवधीको उल्लंघन
Ujyaalo

सिद्धराज राई/उज्यालो ।

धनकुटा, मंसिर २० – मौन अवधीमा चुनाव प्रचार–प्रसार गर्न नपाउने भएपनि धनकुटाका राजनीतिक दल मतदातालाई आफू तिर तान्न साम, दाम, दण्ड, भेदको नीतिमा अडिक रहेका छन् ।

जिल्लाको ग्रामिण क्षेत्रमा घरदैलो भेटघाट र कोठे बैठक गरिरहेका छन् । मतदान गर्ने तरिका सिकाउदै राजनीतिक दलका कार्यकर्ताले आ–आफ्नो चुनाव प्रचार गरेका छन् ।

त्यसैगरी मतदातालाई प्रभावित पार्न पैसा समेत बाँड्न थालेका छन् । मंगलबार राति पैसा बाँड्दै गरेको अवस्थामा राप्रपा प्रजातान्त्रिकका जिल्ला सदस्य राजकुमार राई धनकुटाको कागतेबाट पक्राउ परे । धनकुटामा भीरगाउँमा पैसा बाँड्न गएका राईलाई स्थानीय युवाहरुले लखेटदै पक्रेर प्रहरीलाई बुझाएका थिए । नगद एक लाख ७९ हजार सहित पक्राउ परेका राई लोकतान्त्रिक गठबन्धनका नेताको रोहबरमा छुटेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी मतदातालाई प्रभावित पार्नको लागि धनकुटामा वाम र लोकतान्त्रिक गठबन्धनले हरेक मतदानस्थलमा यूवाहरुको दस्ता तयार गरेका छन् । ती यूवाहरु मतदातालाई सहयोग गर्नको लागि भनेपनि आवश्यक परेको वेला लडाई गर्न उपयोग हुने बताईएको छ ।

त्यसैगरी धनकुटामा वाम गठबन्धनले गाउँमा पैसा बाँड्न रोक्नको लागि युवा दस्ता परिचालन गरेको छ । ती युवाले पैसामा विक्ने मतदाता रहेको गाउँमा रातभरी निगारानी गरेको युवा बालकुमार राईले जानकारी दिनुभयो ।

त्यसैगरी गाउँमा विभिन्न स्थल नजिकै मतदाताको लागि खाना र खाजाको व्यवस्थापन समेत राजनीतिक दलले गरेका छन् । भोजस्थलबाटै मतदाता प्रभावित गर्ने कार्य हुने स्थानीयबासीको भनाई छ ।

मतदातास्थल भन्दा ३ सय मिटर सम्मको दुरीमा कुनै पनि निर्वाचन आचरसंहिता उल्लंघन हुने गतिविधि नगर्न सर्वदलिय बैठकले निर्णय गरेपनि धनकुटामा यो खासै प्रभावकारी बनेको छैन । हामीले मतदान केन्द्रमा भयरहित बनाउने हो । सवै दललाई निर्वाचन आचरसंहिता पालना गर्न अनुरोध गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतिले जानकारी दिनुभयो ।

गाउँघरमा चुनावको रौनक

मतदान गर्नका लागि जिल्ला सदरमुकाम र बाहिर जिल्लामा रहेका राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारण गाउँ फर्के पछि गाउँमा चुनावी रौनक देखिएको छ ।

जिल्लाबाट गाउँफर्केका नेताले मतदातालाई आफ्नो पक्षमा पर्न कार्यक्रम गरिरहेका छन् । मतदान गर्नको लागि धनकुटाका स्थानीय नेता गाउँमा पुगेका छन् । धनकुटामा १ सय १७ मतदान स्थलमा १ सय ५३ मतदान केन्द्र रहेका छन् ।

Share It

Post Comments
थप समाचार