समाचार जिल्ला समन्वय समिति अछामका सदस्य पैसा बाड्दै गरेको अवस्थामा समातिए
Ujyaalo

इन्द्रसरा खड्का/उज्यालो ।

अछाम, मंसिर २० –जिल्ला समन्वय समिति अछामका सदस्य तुलाराम साउँद मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा समातिएका छन् । चौरपाटी गाउँपालिका वडा नम्बर –३ को सोकटस्थित सरकान्ना टोलमा मंगलबार राति मतदातालाई पैसा बाँडदै गरेको अवस्थामा समातेर पैसा नियन्त्रणमा लिएको स्थानीय झंकर विकले जानकारी दिनुभयो ।

उहाँले मंगलबार राति सोकट स्थित सरकान्ना टोलमा मतदातालाई प्रभावमा पार्न पैसा बाँडेको खबर पाएपछि उहाँसँगै अर्का कांग्रेसका नेता झंकर साउदलाई पनि नियन्त्रणमा लिएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य देवबहादुर साउदले जानकारी दिनुभयो ।

साउदको साथबाट ५ हजार १ सय २३ रुपैयाँ जफत गरिएको र जफत गरिएको पैसा जिल्ला प्रशासन कार्यालय अछाममा बुझाइने उहाँले जानकारी दिनुभयो । चौरपाटी गाउँपालिका वडा नम्बर –३ का मतदान अधिकृतसँग पनि पैसा समातिएको बारेमा जानकारी गराइएको बताउनुभयो ।

यस्तै सोकटको वडा नम्बर –३ बाट पनि ३६ हजार रुपैयाँ समातिएको साउदले बताउनुभयो । यसअघि चौरपाटी गाउँपालिका वडा नम्बर –४ पायलमा पनि कांग्रेसका नेता हर्कबहादुर कुँवरको साथबाट पनि १० हजार रुपैयाँ समातिएको थियो ।

यता अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले भने आफूलाई यो खबर भर्खरै प्राप्त भएकाले अनुसन्धान भइरहेको बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार