राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद

नयाँ संविधानले व्यवस्था गरे अनुसार पहिलोपटक भएको स्थानीय तह चुनावमा नेकपा एमाले पहिलो पार्टी भएको छ । कुल ७ सय ५३ मध्ये २ सय ९४ स्थानीय तहमा विजयी हुँदै एमाले पहिलो पार्टी भएको हो । यसअघि दोस्रो संविधानसभा चुनावमा नेकपा एमाले दोस्रो पार्टी भएको थियो । नेकपा एमालेले दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ ९१ र समानुपातिकतर्फ ८४ सिट जितेको थियो । एमालेले प्रत्यक्षतर्फ २७.५५ र समानुपातिकतर्फ २३.६६ प्रतिशत मत पाएको थियो । तर ०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा एमाले तेस्रो पार्टी भएको थियो । पहिलो संविधानसभा चुनावमा एमालेले प्रत्यक्षतर्फ ३३ र समानुपातिकतर्फ ७० सिट जितेको थियो । उसले प्रत्यक्षतर्फ २१.६३ र समानुपातिकतर्फ २०.२२ प्रतिशत मत पाएको थियो । यसअघि ०४८ सालमा भएको संसदीय चुनावमा ६८ सिट जितेर दोस्रो स्थानमा रहेको एमालेले ०५१ सालको मध्यावधी चुनावमा ८८ सिट जितेर पहिलो पटक सरकार बनाएको थियो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको नौ महिने सरकार पहिलो वामपन्थी सरकार थियो । ०५६ सालको चुनावमा भने एमाले फेरि दोस्रो स्थानमै पुग्यो ।

२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि विभिन्न खालखण्डका जुटफुटको इतिहास रच्दै एमाले यहाँसम्म आइपुगेको हो । पछिल्लोपटक नेकपा (माले) र मार्क्सवादी पार्टीबीच २०४७ साल चैतमा ऐतिहासिक पार्टी एकता सम्पन्न भई नेकपा (एमाले) को गठन भयो ।

०५४ साल फागुनमा भएको पार्टी विभाजनको असर चुनावमा पर्यो । विभाजन भएर बनेको नेकपा मालेले भने एक सिट पनि जित्न सकेन । तर मालेले ६ लाखभन्दा धेरै भोट ल्याएको थियो । चार वर्षपछि फेरि नेकपा एमाले र वामदेव गौतमले नेतृत्व गरेको नेकपा मालेबीच एकता भयो । एमालेको २०७१ असारमा भएको नवौं महाअधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा चयन गरेको हो ।

दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गर्‍यो । संविधान निर्माण कार्यमा नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो । संविधान जारी भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ०७२ असोज २४ गते एमालेको सरकार बन्यो । भारतले गरेको नाकाबन्दीको डटेर सामना गरेको र देशको स्वाभिमानलाई बचाएको भन्दै सबैले ओली नेतृत्वको सरकारको खुलेर प्रशंसा गरे । मुख्य सहयात्री माओवादी केन्द्र रहेको ओली सरकार लामो समय टिक्न सकेन । आफ्नै सहयात्री दल माओवादी केन्द्रले साउन ७ गते सरकार विरुद्ध अविश्वासको प्रस्ताव लगेपछि ओली नेतृत्वको सरकार ढलेको थियो ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा भने नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने यात्रासम्मको चुनावी तालमेल गरेका छन् । एमालेले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेको छ । आफूलाई नेपाली सर्वहारा श्रमजीवि नागरिकको प्रतिनिधित्व गर्ने मान्ने यो पार्टीले सामन्तवाद, दलाल–नोकरशाही–पूँजिवाद र साम्राज्यवादी शोषणविरुद्ध लड्दै समाजवाद स्थापनालाई आफ्नो उद्देश्य बताउँदै आएको छ । तत्कालीन महासचिव मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (यसलाई एमालेले नेपाली क्रान्तिको मौलिक कार्यक्रम मान्दै आएको छ) मार्फत न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्न सकिने एमालेको ठहर छ ।

अध्यक्ष : खड्गप्रसाद ओली (केपी शर्मा ओली)

मुख्यालय : धुम्बाराही, काठमाडौं मार्गदर्शक

सिद्धान्त : मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद

Website: http://www.cpnuml.org/

Facebook Page: https://www.facebook.com/communistpartynepal/

वाम गठबन्धनको घोषणपत्र :

थप राजनीतिक दल