राजनीतिक दल
राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रियता, प्रजातन्त्र र उदारवाद

राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना २०६४ सालमा भएको हो । वि.सं. २०४७ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेर सूर्यबहादुर थापाले नेतृत्व गरेको पार्टी राप्रपा (थापा) भयो र लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको पार्टी राप्रपा (चन्द) भयो । वि.सं. २०४८ सालमा भएको संसदीय चुनावमा राप्रपा (थापा) ले एक सिटमा विजय हासिल गर्‍यो । यसैगरी राप्रपा (चन्द) पक्षले तीन सिट जितेको थियो ।

वि.सं. २०५१ साल माघमा दुई पार्र्टीबीच एकीकरण भयो । त्यसपछिको मध्याविध चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्र्टीले २० सिट जित्यो । लगत्तै विभाजन भएको राप्रपाले वि.सं. २०५६ सालको चुनावमा ११ सिट जितेको थियो । वि.सं. २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेको असंवैधानिक कदमको समर्थन गर्ने कमल थापालाई राप्रपाले पार्टीबाट निष्कासन गरियो । त्यसपछि कमल थापा पक्षले ०६४ सालको संविधानसभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नाममा पार्टी दर्ता गर्यो ।

राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र जनताको सार्वभौमिकता कायम गर्नु राप्रपा नेपालको उद्देश्य रहेको बताएको थियो । ०६४ सालमा भएको संविधानसभा चुनावमा राप्रपा नेपालकातर्फबाट प्रत्यक्षमा कुनै उम्मेदवारले चुनाव जितेनन् । समानुपातिकतर्फ चारजना सभासद संविधानसभामा सहभागी भए । समानुपातिकमा राप्रपाले खसेको मतको १.०३ प्रतिशत प्राप्त गरेको थियोे ।

राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र हुनुपर्ने मुख्य एजेण्डा बनाएर ०७० सालको संविधानसभा चुनावमा गएको राप्रपाले प्रत्यक्षमा एउटा पनि सिट जितेन । तर समानुपातिकमा २४ र मनोनित एकवटा गरेर राप्रपा संसदमा २५ सांसद सहित चौथो दल बनेको हो । त्यसबेला राप्रपा नेपालले प्रत्यक्षमा २.७९ र समानुपातिकमा ६.६६ प्रतिशत मत ल्याएको थियो । अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उदेश्य ०७३ मंसिरमा कमल थापाको राप्रपा नेपाल र पशुपति शम्शेर जबरा नेतृत्वको राप्रपाबिच पार्टी एकीकरण भएर राप्रपा बन्यो । एकीकृत पार्टीमा ३८ सांसद भए । एकीकरणपछि राप्रपा चौथो शक्तिमा नै यथावत रह्यो । स्थानीय तह चुनावमा राप्रपाले ५ वटा तहमा मात्रै जित्न सक्यो ।

पार्टी एकताको छोटो समयमा नै अध्यक्ष थापाले पार्टीमा मनोमानी गरेको भन्दै ०७४ साउनमा राप्रपा विभाजनको संघारमा पुग्यो । पार्टीबाट निष्कासनमा परेर राप्रपा नेपालको गठन गरेका कमल थापा एकतापछि संस्थापन पक्ष हुँदै राप्रपाको अध्यक्षमा कायम रहनुभयो भने असन्तुष्ट पक्षको संयोजन पहिलेको राप्रपा अध्यक्ष पशुपति शमशेरले गर्दै राप्रपा प्रजातान्त्रिक गठन गर्नुभयो ।

अध्यक्ष : कमल थापा

मुख्यालय : बालुवाटार, काठमाडौं

आदर्श : राष्ट्रियता, प्रजातन्त्र र उदारवाद

वेभ साइट : http://rppn.org/

राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्र

 

थप राजनीतिक दल