समाचार लमजुङमा बदर मत उच्च, पछिल्लो मतगणनामा वाम गठबन्धन अगाडि
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर २२ – कुल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा बिहीबार भएको चुनावमा जम्मा ७७ हजार ३ सय ४० मत खसेको थियो । कुल मतदाताको भन्दा कम मत खसेको लमजुङमा प्रतिनिधिसभातर्फ २३ हजार ९ सय ४० मत गन्दा ७ सय ८३ मत बदर भएको छ ।

प्रदेशसभा (क) मा ११ हजार २ सय ९० मत गणना हुँदा ४ सय ७५ मत बदर भएको छ । प्रदेशसभा (ख) मा १४ हजार ६७ मत गणना हुँदा ३ सय १६ मत बदर भएको छ ।लमजुङमा वाम गठबन्धनले अग्रता लिएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा प्रतिनिधिसभा र दुबै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।

प्रतिनिधिसभातर्फ २३ हजार ९ सय ४० मतगणना गर्दा कांग्रेसका दिलबहादुर घर्तीले ९ हजार ८ सय ९१ मत ल्याउनुभएको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले १२ हजार ४ सय १ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँले कांग्रेसका घर्तीलाई २५ सय १० मतले पछि पार्नुभएको छ ।

यसैगरी, प्रदेशसभा (क) मा ११ हजार २ सय ९० मत गणना हुँदा नेपाली कांग्रेसका गर्जबहादुर गुरुङले ४ हजार ५६ मत ल्याउनुभएको छ । वाम गठबन्धनका उम्मेदवार धनन्जय दवीले ६ हजार ४ सय ८६ मत ल्याउनुभएको छ । वाम गठबन्धनका दवाडीले कांग्रेसका गुरुङलाई २४ सय ३० मतलेपछि पार्नुभएको छ ।

प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका पृथ्बीसुब्बा गुरुङले कांग्रेसका कृष्ण कोईरालालाई ९ सय २८ मतलेपछि पार्नुभएको छ । १४ हजार ६७ मत गणना हुँदा प्रदेशसभा (ख) मा कांग्रेसले ६ हजार २ सय ५१ मत पाएको छ । वाम गठबन्धनले भने ७ हजार १ सय ७९ मत पाएको छ ।

लमजुङमा हिजो बेलुकी ५ बजेबाट मतगणना सुरु भएको हो । मतगणना सुरु भएपछि शुक्रबार बिहानसम्म लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा भएकोमा पछिल्लो समय वाम गठबन्धनका उम्मेदवारले अग्रता लिईरहेका छन् ।

 

 

Share It

Post Comments
थप समाचार