समाचार सर्लाहीमा पनि तारजाली भित्र राखेर भोट गनिने
Ujyaalo

सर्लाही, मंसिर २२ –सर्लाहीमा पनि तारजाली भित्र राखेर बेलुकी ५ बजेबाट मात्र मतगणना हुने भएको छ । मतगणनास्थलमा तारजालीको व्यवस्था गरि कडा सुरक्षा प्रवन्ध मिलाइएको छ । दलका प्रतिनिधीलाई तारजालीबाहिर राखेर मतगणना हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

मुख्य निवाचन अधिकृत राजेश कुमार काफ्लेका अनुसार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले बेलुकी ५ बजेबाट मतगणना थाल्ने निर्णय गरेको छ । काफ्लेका अनुसार निर्वाचन क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र निर्वाचन क्षेत्र नम्बर १, ३ र ४ को सर्लाही क्याम्पस मलंगवाको हलमा मतगणना गरिने छ ।

बिहान ११ बजेदेखि नै मतगणना सुरु गर्ने बताइए पनि दलका प्रतिनिधि र उम्मेदवार समयमै नआउँदा सर्वदलीय बैठक बस्न नै ढिलो भएकाले मतगणना ढिलो हुन पुगेको मुख्य निर्वाचन अधिकृत काफ्लेले बताउनुभयो ।

मतगणना स्थल बाहिर बिहानैदेखि मतपरिणाम सुन्नका लागि दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ । ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा हिजो भएको मतदानमा ३ लाख ८५ हजार ५ सय ८१ मतदाता मध्ये करिव ६५ प्रतिशतले मतदान गरेका थिए ।

Share It

Post Comments
थप समाचार