समाचार एमाले कार्यकर्ताले मतदान अधिकृत कुटे
Ujyaalo

मंसिर २२ – स्याङ्जाका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि एमालेका नेताले हातपात गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत श्रेष्ठमाथि एमालेका नेता तथा आँधिखोला गाउँपालिका प्रमुख सुधिरकुमार पौडेलले हातपात गरेका हुन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार पदमा अर्यालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा सहभागि पौडेलले श्रेष्टमाथि हातपात गरेका हुन् ।

श्रेष्ठको कार्यकक्षमा छिरेर पौडेलले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्न चुनावमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएपछि स्याङ्जाको मतगणना अवरुद्ध भएको छ ।

एमालेले उजुरी दर्ता गराएपछि कांग्रेसले पनि अरु बुथमा एमालेले बलजफ्ती गरेको भन्दै पुनः मतदानको माग गरेपछि विवाद बढ्दै गएको छ । मतगणनाको विवादलाई लिएर वाम गठबन्धनका नेताहरुले छलफल गर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालय पुगेका नेताले एक्कासी हातपात गरेका हुन् ।

अवरुद्ध भएको मतगणना अगाडि बढाउनेमा मुख्य निर्वाचन अधिकृतले बैठक बोलाएपनि दलका प्रतिनिधि सहभागी भएका छैनन् । नेताहरु आन्तरिक बैठकमा व्यस्त भएकाले बैठकमा सहभागी नभएको दल सम्बद्ध नेताहरुले बताएका छन् ।

Share It

Post Comments
थप समाचार