समाचार लमजुङमा १२ सय ६७ कर्मचारी खटिए, १८ मतदान स्थल अतिसंवेदनशील
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर ७ –पहिलो चरण अन्तर्गत मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लमजुङमा १२ सय ६७ कर्मचारी खटिएका छन् । उनीहरु आवश्यक चुनाव सामाग्रीसहित गाउँगाउँ खटिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

‘मतदानका लागि आवश्यक मतदाता नामावली, मतपत्र, भोट हाल्न प्रयोग हुने स्वस्तिक छाप, मसी, मतपेटिका, मतदान सकिएपछि मतपेटिका बन्द गर्ने लाहा, त्यसलाई बाँध्ने डोरी, मैनबत्ती, कागज टाँस्ने ग्लुस्टिक, डोरी काट्न कैँची, ब्लेड, सुरक्षण सिल, मतपेटिका हाल्न कपडाको थैलो, थैलो बन्द गर्न सियो धागो लगायतका निर्वाचन सामग्री लिएर उनीहरु मतदान केन्द्र पुगेका छन्’ उहाँले जानकारी गराउनुभयो ।

बोरा सिलाउन सियो, नामावली रुजु गर्न डटपेन, कागजी तथ्यांक संकलन गर्न स्ट्याप्लर, स्ट्याप्लर पिन, नाप्ने टेप, लाइटर, सलाई, टर्च लाइट, झोला, प्राथमिक उपचारका सामान र औषधी, प्लास्टिकका थैला, बोरा, कपडा, नउड्ने मसी लगायतका सामाग्री पनि मतदान केन्द्रमा हुने उहाँले जानकारी गराउनुभयो । जिल्लामा १ सय ६५ मतदान केन्द्र रहेका छन् ।

१८ मतदान स्थल अतिसंवेदनशील

जिल्लामा १ सय २३ मतदान स्थल तोकिएको छ । सुरक्षा समिति लमजुङले जिल्लाको १८ मतदान स्थललाई अतिसंवेदनशील क्षेत्र तोकेको छ । यहाँका ८० मतदानस्थललाई संवेदनशील र बाँकी २५ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवम् प्रजिअ युवराज मैनालीले जानकारी दिनुभयो । ‘अतिसंवेदनशील र संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ’ उहाँले भन्नुभयो, ‘चुनावलाई भयरहित, निष्पक्ष बनाउनको लागि सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन दिने छैनौं ।’

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, जनपथ, सशस्त्र र म्यादी प्रहरी गरी जिल्लामा ३ हजार सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले उल्लेख गर्नुभयो ।

 

Share It

Post Comments
थप समाचार