समाचार लमजुङमा देव गुरुङ प्रतिस्पर्धीभन्दा ३६ सय बढी मतले अगाडि
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर २२– लमजुङमा मतगणना भइरहेको छ । लमजुङमा बिहीबार बेलुकी ५ बजेबाट मतगणना सुरु भएको हो । लमजुङमा वाम गठबन्धनले अग्रता लिएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा प्रतिनिधिसभा र दुवै प्रदेशसभामा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।

प्रतिनिधिसभातर्फ २९ हजार ५ सय ७ मत गन्ती गर्दा कांग्रेसका दिलबहादुर घर्तीले ११ हजार ७ सय ८२ मत ल्याउनुभएको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले १५ हजार ३ सय ९५ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँले कांग्रेसका घर्तीलाई ३६ सय १३ मतले पछि पार्नुभएको छ ।

यसैगरी, प्रदेशसभा ‘क’ मा १५ हजार १ सय ८४ मत गणना हुँदा नेपाली कांग्रेसका गर्जबहादुर गुरुङले ५ हजार ७ सय २९ मत ल्याउनुभयो । वाम गठबन्धनका उम्मेदवार धनन्जय दवाडीले ८ हजार ५ सय ७ मत ल्याउनुभएको छ । वामगठबन्धनका दवाडीले कांग्रेसका गुरुङलाई २७ सय ७८ मतले पछि पार्नुभएको छ ।

प्रदेशसभा ‘ख’ मा पनि वाम गठबन्धनका पृथ्बीसुब्बा गुरुङले कांग्रेसका कृष्ण कोइरालालाई १७ सय ८९ मतले पछि पार्नुभएको छ । १८ हजार १७ मत गणना हुँदा प्रदेश सभा ‘ख’ मा कांग्रेसले ७ हजार ६ सय ७१ मत पाएको छ । भने वाम गठबन्धनले ९ हजार ४ सय ६० मत पाएको छ ।
लमजुङमा कुल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेको थिए । चुनावमा यहाँ जम्मा ७७ हजार ३ सय ४० मत खसेको हो ।
तुलनात्मक रुपमा लमजुङमा बदर मतको संख्या उच्च रहेको पाइएको छ । प्रतिनिधिसभातर्फ २९ हजार ५ सय ७ मत गन्दा ९ सय ३६ मत बदर भएको छ ।

प्रदेशसभा ‘क’ मा १५ हजार १ सय ८४ मत गणना हुँदा ५ सय ९८ सय मत बदर भएको छ । प्रदेशसभा ख मा १८ हजार १७ मत गणना हुँदा ४ सय १ मत बदर भएको छ । यही रफ्तारमा मतगणना अघि बढेमा भोली अबेरसम्म अन्तिम मतपरिणाम आउन सक्ने गणकहरुले बताएका छन् ।

लमजुङमा प्रतिनिधिसभातर्फ दूधपोखरी गाउँपालिका, क्व्होलासोँथर गाउँपालिका, मध्यनेपाल नगरपालिकाको मत गणना सकिसकेको छ ।
प्रदेशसभा ‘क’ तर्फ राईनास र सुन्दरबजार नगरपालिकाको मतगणना भइरहेको छ । दूधपोखरी गाउँपालिका मतगणना सकिएको छ ।
प्रदेशसभा ‘ख’ मा पनि मध्यनेपाल नपाको मतगणना सकिएको छ । सुन्दरबजारको मतगणना भइरहेको छ ।

तीन तहको कडा सुरक्षा व्यवस्थाका साथ मतगणना गरिएको छ । जिल्लाबाट प्रतिनिधिसभाका लागि यहाँ ९ दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभा ‘क’ मा विभिन्न दलका गरी ६ जनाको उम्मेदवारी परेको थियो । यसैगरी, प्रदेशसभा ‘ख’ मा ७ दल र एक स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी रहेको थियो ।

Share It

Post Comments
थप समाचार