समाचार अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
Ujyaalo

दैलेख, मंसिर २३ – दैलेख क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार अम्मरबहादुर थापा १२ हजार ५ सय ६७ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका जगतजंग थापालाई १ हजार ९८३ मतले पछि पार्दै थापा विजय हुनुभएको हो ।


२०७० को संविधानसभा सदस्यमा विजयी हुनुभएका थापा २०६४ को संविधानसभा सदस्यको चुनावमा भने पराजित हुनुभएको थियो । २०१२ साल माघ ११ गते भगवतीमाई गाउँपालिका – १ पगनाथ गाउँमा जन्मनुभएका थापाले २०२८ सालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएको थियो । २ कार्यकाल वडाध्यक्ष, २०३६ देखि २ वर्ष उप–प्रधानपञ्चको जिम्मेवारी सम्हाल्नुभएका थापाले २०३९–२०४३ सम्म जिल्ला पञ्चायतको इलाका सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।


त्यसपछि २०४९–२०५३ सम्म नेकपा एमालेको तर्फबाट जिल्ला विकास समितिको सदस्य भई काम गर्नु भएका थापा २०५२ सालदेखि २०५४ सम्म नेकपा एमालेको जिल्ला कमिटी उपसचिव, २०५४ देखि २०६० सालसम्म जिल्ला कमिटीको सचिवको रुपमा नेतृत्व दिनु भएको थियो ।


थापा २०६० देखि २०६६ सम्म भेरी अञ्चल कमिटीको सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो भने २०६६ देखि २०७१ सम्म पार्टी जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनुभयो । अहिले उहाँ नेकपा एमालेको ६ नं. प्रदेश कमिटीको सदस्य पदको जिम्मेवारीमा हुनुहुन्छ ।


२०६२–६३ को जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका थापा पटक–पटक पक्राउ पर्नु भएको थियो ।

Share It

Post Comments
थप समाचार