समाचार चुनाव नसकिएसम्म विकास निमार्णका काम नगर्न आदेश
Ujyaalo

दाङ, मंसिर ८ – मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आचारसहिंता उल्लंघनको उजुरी आउने थालेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङमा विकास निर्माणका कुनै पनि काम नगर्न निर्देशन गरेको छ ।

चुनावलाई प्रभावित पार्ने गरी विकास निर्माणका काम भइरहेको भन्ने उजुरी आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङका दश वटै स्थानीय तहलाई विकास निर्माणका काम नगर्न निर्देशन गरिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावतले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत रावतका प्रक्रियामा रहेका बाहेक अन्य सवै विकास निर्माणका काम चुनाव सम्पन्न नहुँदासम्मका लागि रोक्न निर्देशन गरिएको हो ।

चुनावको मिति नजिकिदै जाँदा दाङमा चुनावी चहल पहल बढदै गएको छ । जिल्लाका एक सय ५१ मतदान स्थलका ३ सय ९४ मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौट भैसकेका छन् । सहायक स्तरका कर्मचारी छनौट जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छनौट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि १० गतेदेखि १३ गतेसम्म तालिम सञ्चालन गर्ने कार्यसूचि तयार गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय मतदानका लागि आवश्यक अन्य तयारीमा जुटेको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लामा भित्रिएका मतपत्रसहितका सामग्री रुजु गर्दै सम्बन्धीत मतदान केन्द्रमा पठाउने प्याकेट तयारीमा लागेको दाङका मुख्य निर्वाचन अधिकृत रावलले बताउनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा अहिले मतपत्र सहितका सामग्री गणना गर्दै प्याकिङ गर्न कर्मचारीहरु व्यस्त छन् ।

Share It

Post Comments
थप समाचार