समाचार निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगे कर्मचारी
Ujyaalo

प्रताप बानियाँ/उज्यालो । 

म्याग्दी, मंसिर ८ – आइतबार हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सम्पन्न गराउनका लागि चुनावमा खटिएका कर्मचारीहरु मतदानस्थल र केन्द्रमा पुगेका छन् ।

चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्रीहरु लिएर कर्मचारीहरु म्याग्दीको सबै मतदान केन्द्रमा पुगिसकेको र चुनावको तयारीमा लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  मतदानस्थल र मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय, सर्वपक्षीय वैठकको आयोजना गरी चुनावको कामलाई अगाडि बढाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी खेमराज पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गरेका छन् ।  म्याग्दीमा ७२ मतदानस्थल र १०६ वटा मतदान केन्द्र तोकिएको छ । चुनाव सम्पन्न गराउनका लागि १०६ जना मतदान अधिकृत, १०६ जना सहायक मतदान अधिकृत, ४२३ जना सहायक कर्मचारी, २१२ जना कार्यालय सहयोगीसहित सुरक्षाकर्मीबाहेक कुल ८४७ जना कर्मचारीहरु खटिएका छन् ।

यसैगरी ४२२ जना स्वयंसेवकहरु मतदान अधिकृतले नियुक्ती गर्नुपर्ने प्रावधान रहेको छ ।  चुनावका लागि म्याग्दीमा सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो । अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलको आधारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र म्यादी प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । 

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा कुल मतदाता सङ्ख्या ७५ हजार ५ सय ३८ रहेको छ । तीमध्ये ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता रहेका छन् । प्रदेशसभा (क)मा ४२ हजार ९ सय ९३ र (ख)मा ३२ हजार ५ सय ४५ मतदाता छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभातर्फ गरी कुल १३ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । 

Share It

Post Comments
थप समाचार