समाचार चुनावलाई शान्तिपूर्ण बनाउन प्रमुख आयुक्तको निर्देशन
Ujyaalo

रसुवा, मंसिर ८ –आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लालाई सुरक्षाको नियन्त्रणमा लिनका लागि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्देशन दिनुभएको छ ।

शुक्रबार सेनाको हेलिकप्टरमार्फत रसुवा आउनुभएका प्रमुख निर्वाचन आयुक्त यादवले जिल्लाका सुरक्षा निकायका प्रमुखसँगको छलफलमा मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गर्नका लागि सुरक्षा निकायले जिल्लालाई नियन्त्रणमा लिन निर्देशन दिनुभएको हो ।

चुनाव आउन दुई दिन मात्र बाँकी रहँदा जिल्लामा हवाइफायर गर्नुपर्ने अवस्था आएको देखिएकाले चुनाव विरोधी गतिविधि हुन नदिनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीलाई उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

जिल्लामा पछिल्लो समय उम्मेदवार तथा नेतामाथि आक्रमणको घटना बढ्दै गएकोले स्थिति नियन्त्रणका लागि कुनै कसुर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ । मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नसक्ने कुरामा ध्यान दिन र गलत गरेको पाइएमा तत्काल एक्सन लिन आग्रह गर्नुभएको छ ।

३४ मतदानस्थल र ४५ ओटा मतदान केन्द्र रहेको रसुवामा एउटा अतिसंवेदनशील, २१ संवेदनशील र १२ ओटा सामान्य रहेको छ ।

Share It

Post Comments
थप समाचार