समाचार रामजनमको अपराजित राजनीतिक यात्रामा पुर्ण विराम लाग्ने संकेत
Ujyaalo

नवराज पनेरु/उज्यालो
धनगढी, मंसिर २४ – थारु समुदायको बाहुल्य रहेको कैलाली निर्वाचन क्षेत्र नम्वर ३ मा प्रतिनिधि सभा सदस्यका लागि भएको दुई पूर्वमन्त्री बीचको प्रतिस्पर्धामा एक जना पुर्वमन्त्रीको अढाई दशकको अपराजित यात्रामा पुर्णविराम लाग्ने संकेत देखिएको छ ।


२०४८ सालयता भएका सबै संसदीय चुनावमा जित्दै आएका पूर्वमन्त्री एवं काँग्रेस नेता रामजनम चौधरीलाई अर्का थारु समुदायका नेता पुर्वमन्त्री गौरीशंकर चौधरीले पराजयको स्वाद चखाउने संकेत देखिएको हो ।


पूर्व कृषिमन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीले प्रारम्भिक नतिजामा रामजनमलाई पछारेपछि कैलालीको राजनीतिक वृत्तमा यो कुराले चर्चा पाएको छ । कैलाली ३ मा अहिलेसम्म गणना भएको ३६ हजार ६११ मतमा गौरीशंकरले चौधरीले १४ हजार २७६ मत पाउनुभएको छ ।


रामजनम चौधरीले भने ११ हजार ८८३ मत ल्याएर गौरीशंकरलाई पछ्याईरहनु भएको छ । २०४८ साल यता कहिल्यै हार व्यहोर्नु नपरेका रामजनमले यसपटक पराजयको अनुभव लिने निश्चित जस्तै भएको छ ।


२०४८ साल, २०५१ र २०५६ सालमा भएको चुनावमा नेपाली काँग्रेसबाट विजयी भएका रामजनम २०६४ सालमा समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो । २०७० सालमा भएको दोश्रो संविधान सभा चुनावमा काँग्रेस पार्टी परित्याग गरेर फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका रामजनम आफ्नै सहपाठी नारायणदत्त मिश्रलाई पराजित गर्दै सांसद बन्नुभएको थियो ।


टीकापुर घटनाको आरोपमा थारु समुदायलाई कारागार चलान गर्दा समेत मन्त्री हुँदा पनि रिहा गर्न कदम नचालेको भन्दै यो समुदायले मन पराउन छोडेको चर्चा हुन थालेको छ । उहाँको पकेट क्षेत्र मानिने जोशीपुर पनि यसपाली क्षेत्र नम्वर १ मा गाभिएपछि रामजनमलाई नराम्ररी धक्का पुगेको हो ।

यता कृषिमन्त्री भएका गौरीशंकर चौधरीले भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका धेरै कार्यक्रमहरु आफ्नो क्षेत्रमा लैजानुभएको थियो । जसको फाईदा अहिलेको नतिजाले देखाएको छ । उहाँले विभिन्न जोन व्लक लगायतका धेरै कार्यक्रमहरु लगेका कारण उहाँलाई मतदाताले मत जाहेर गरेको आंकलन भैरहेको छ ।
तर अझै धेरै मत गन्न वाँकी रहेकाले नतिजा कता जाने हो भन्ने आंकलन गर्न सकिने अवस्था छैन । सधैं सहज जीतको उन्मादमा रहने रामजनम चौधरीलाई यसपटक गौरीशंकर चौधरीले सहजै जित्न दिने अवस्था भने छैन ।

Share It

Post Comments
थप समाचार