समाचार हिमाली जिल्ला मुस्ताङमा चुनावको सबै तयारी पूरा 
Ujyaalo

प्रताप बानियाँ/उज्यालो । 

म्याग्दी, मंसिर ९ – आइतबार हुन गैरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि हिमालपारीको जिल्ला मुस्ताङमा सम्पूर्ण तयारी पूरा भएको छ ।

मतदानस्थल र मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, कर्मचारी, सहयोगी र निर्वाचन सामग्री पुगिसकेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।चुनाव सम्पन्न गराउनका लागि खटिएका कर्मचारीहरुले मतदान केन्द्रमा पुगेर आवश्यक तयारी पूरा गरी मतदाता परिचयपत्र वितरण, बुथ निर्माणलगायतका कामहरु गरेको मुस्ताङका जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले जानकारी दिनुभयो । 

मुस्ताङको चुनावका लागि ३७ जना मतदान अधिकृत, ३७ जना सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगीसहित सुरक्षा फौजबाहेक २६१ जना कर्मचारीहरु खटिएको उहाँले बताउनुभयो ।  हिमाली जिल्ला मुस्ताङमा ३७ ओटा मतदानस्थल रहेका छन् । चुनावका लागि मतदान केन्द्र पनि ३७ वटा कायम गरिएको छ । आसन्न चुनावका लागि मुस्ताङमा कुल  ९ हजार ४ सय २७ जना मतदाता रहेका छन् ।

तीमध्ये महिला ४ हजार ८ सय ६, पुरुष ४ हजार ६ सय २० र एकजना तेस्रोलिङ्गी रहेका छन् ।  पाँचवटा गाउँपालिका रहेको मुस्ताङमा चुनावका लागि एक प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको छ भने विभिन्न दलका ८ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । सुरक्षाको प्रवन्धलगायत चुनावका लागि चाहिने सबै किसिमको तयारी पूरा गरी मतदातालाई ढुक्कसँग मतदान गर्ने वातावरण निर्माण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । 

Share It

Post Comments
थप समाचार