समाचार म्याग्दीमा निर्वाचनको सबै तयारी पूरा, अपाङ्गता, गर्भवती र ज्येष्ठनागरिकलाई प्राथमिकता
Ujyaalo

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, मंसिर ९ – म्याग्दीमा आइतबार हुन लागिरहेको पहिलो चरण अन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको म्याग्दीमा सबै तयारी पूरा भएको छ । सुरक्षा प्रबन्धका साथै चुनावका लागि चाहिने सम्पूर्ण सामग्रीसहित मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले मतदानको तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छन् । 

चुनाव सम्पन्न गराउनका लागि चुनावमा खटिएका कर्मचारीले मतदानस्थल र केन्द्रमा पुगेर सर्वदलीय, सर्वपक्षीय वैठकको आयोजना गरी बुध निर्माण, मतदाता परिचयपत्र वितरणलगायत कामहरु गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापसहित ६४ प्रकारका सामग्रीहरु लिएर कर्मचारीहरु बिहीबार नै जिल्लाको सबै मतदान केन्द्रमा पुगिसकेको कार्यालयका सूचना अधिकारी खेमराज पाठकले जानकारी दिनुभयो ।  उहाँका अनुसार चुनावमा खटिएका कर्मचारीहरुले मतदाता परिचयपत्रको समेत वितरण कार्य सुरु गरिसकेका छन् ।

स्थानीय तहको चुनावपछि सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा आफ्नो नामावली दर्ता गराएका मतदातालाई मात्र यसपाली मतदाता परिचयपत्र वितरण गरिएको छ । म्याग्दीमा ७२ मतदानस्थल र १०६ वटा मतदान केन्द्रहरु तोकिएको छ । चुनाव सम्पन्न गराउन जिल्लामा १०६ जना मतदान अधिकृत, १०६ जना सहायक मतदान अधिकृत, ४२३ जना सहायक कर्मचारी, २१२ जना कार्यालय सहयोगीसहित सुरक्षाकर्मीबाहेक कुल ८४७ जना कर्मचारीहरु खटिएका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा कुल मतदाता सङ्ख्या ७५ हजार ५ सय ३८ रहेको छ ।

प्रतिनिधिसभामा एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेको म्याग्दीमा विभिन्न दलका १३ जना उम्मेदवारहरु चुनावी मैदानमा  छन् । मतदानको तयारी सुरु भएसँगै जिल्लाको गाउँगाउँमा चुनावको रौनक देखिएको छ ।  यसैबीच आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्याग्दीका सबै मतदान केन्द्रमा शारिरीक रुपमा अशक्त एवं अपाङ्गता भएका मतदातालाई प्राथमिकता दिइने भएको छ । मतदान गर्न सहज वातावरण निर्माणका लागि १०६ ओटै मतदान केन्द्रमा अपाङ्गता, गर्भवती महिला, बिरामी र ज्येष्ठनागरिकलाई मतदानमा प्राथमिकता दिन निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

Share It

Post Comments
थप समाचार