समाचार कांग्रेसका माधवरामलाई हराउने को हुन् अथक
Ujyaalo

मंसिर २४  –२०४५ सालदेखि पूर्ण रुपमा पार्टी काममा लागेका गहतराजले सशस्त्र विद्रोहका समयमा रुकुममा देशमै पहिलो पटक नेकपा माओवादीले गठन गरेको जनसरकारको उपप्रमुखको जिम्मेवारी पाउनुभयो । त्यस्तै नेकपा माओवादीको रुकुम, बाँके, बर्दिया, सुर्खेत, हुम्ला, कालिकोट, जुम्ला, मुगु जिल्लाको इन्चार्जको रुपमा उहाँले काम गर्नुभएको थियो ।
तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र विद्रोह सुरु गर्दा पहिलो पटक रुकुमको आठविसकोटमा रहेको राडीज्युला प्रहरी चौकी आक्रमणका कमाण्डर गहतराज नै हुनुहुन्थ्यो । नेकपा माओवादीले गणेशमान पुन, योगेश्वर शर्मा र दौलतराम घर्र्तीसँगै उहाँलाई त्यसको कमाण्डर तोकेको थियो ।
नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य महेश्वर गहतराजको जन्म २०२८ साल भदौ १२ गते रुकुमको बाँफीकोटमा भएको हो । सुकिराम गहतराज र रति गहतराजका छोरा महेश्वरले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ ।
उहाँले २०४३ सालमा तत्कालीन नेकपा मसालको सदस्यता लिनु भएको थियो । उहाँ अखिल क्रान्तिकारी, अखिल नेपाल युवक संघ र नेपाल उत्पीडित दलित जातिय मुक्ति समाजको केन्द्रीय सदस्य बनेर काम गर्नुभएको छ ।
२०५९ सालदेखि उहाँ माओवादीको केन्द्रीय सदस्य हुनुहुन्छ । २०६२÷०६३ सालको जनआन्दोलनका समयमा बाँके र बर्दियामा सात राजनीतिक दलसँग मिलेर आन्दोलनमा लागेका उहाँ शान्ति प्रक्रियापछि बाँके जिल्लामा क्रियाशील हुनुहुन्छ । २०७० सालको चुनावमा उहाँ यही क्षेत्रमा पराजित हुनु भएको थियो ।

Share It

Post Comments
थप समाचार