समाचार आइतबार चुनाव हुने ३२ जिल्लाका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा
Ujyaalo

काठमाडौं, मंसिर ९– आइतबार चुनाव हुने ३२ जिल्लाका २ हजार ९ सय १९ मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । चुनावमा हुन सक्ने संभावित घटनालाई मध्नजर गर्दै सबै सुरक्षा निकायलाई तैनाथ गरिएको गृह सचिव गृह सचिव मोहनकृष्ण सापकोटाले बताउनुभयो ।

दशदेखि तीस मिनेट भित्रमा जुनसुकै ठाउँमा सुरक्षाकर्मीको टोली पुग्नेगरी सुरक्षा व्यवस्था मिलाइएको छ । यसका लागि हवाई तथा स्थलमार्गमा थप सुरक्षाकर्मी तैनाथ रहेको गृह मन्त्रालयको दावी छ । सबै जिल्लामा ब्याक फोर्स र सेनाका पृतनामा हेलिकोप्टरसहितको टोली तयारी अवस्थामा राखिएको छ ।

सेनाले सरकारी तथा निजी हेलिकप्टरबाट भोलिदेखि मतगणना केन्द्रमा मतपत्र नपु¥याएसम्म हवाई गस्ती गर्नेछ । चुनावका लागि ६४ हजार सेना, ६८ हजार ६ सय ७८ प्रहरी, ४२ हजार ८ सय ९१ सशस्त्र प्रहरी र ९८ हजार १ सय ७६ म्यादी प्रहरी खटाइएको छ ।

सरकारले भएरहित र स्वच्छ रुपमा चुनाव सम्पन्न गर्न तीनघेरे सुरक्षा नीति अपनाएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोश्रोमा शसस्त्र प्रहरी रहने छन् भने, बाहिरी सुरक्षा नेपाली सेनाले गर्ने छ । यस्तै आवश्यकता अनुसार म्यादी प्रहरी खटिने छन् ।

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले केन्द्रिय कमाण्ड पोस्ट, क्षेत्रीय कमाण्ड पोस्ट र जिल्ला कमाण्ड पोस्ट तयार गरेको छ । यी तीनै कमाण्ड पोस्टबिच निरन्तर सूचना आदानप्रदान गरेर सुरक्षाको स्थिति अनुगमन गर्ने व्यवस्था गरेको हो ।

निर्वाचन अवधीभर एम्बुलेन्स, खानेपानी, शववहान लगायतका अत्यावश्यक सवारी साधन, अनुमती प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । त्यस्तै आइतबार सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थानहरु बन्द रहने पनि गृह मन्त्रालयले जनाएको छ ।

यस्तो अवस्थामा गोली चल्न सक्छ

चुनावका क्रममा कठिन अवस्था आएमा सुरक्षाकर्मीले गोली चलाउन समेत सक्ने छन् । बुथ कब्जा गर्न खोजेमा, हातहतियार तथा विस्फोट गराउने विरुद्धको प्रतिकारमा, मतपेटिका लुट्न खोजेमा, मतपेटिका बोकेको गाडीमा आगजानी गर्न खोजेमा, धेरै जनधनको क्षति हुने अवस्था आएमा र सुरक्षाकर्मीनै असुरक्षित हुने अवस्था आएमा सुरक्षाकर्मीले गोली चलाउन सक्ने गृह मन्त्रालयले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार