समाचार पाल्पामा समानुपातिकतर्फ एमाले पहिलो, विवेकशील चौथो स्थानमा
Ujyaalo

देव पचभैया/उज्यालो
पाल्पा, मंसिर २६ –पाल्पाका दुबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जितेको वाम गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) समानुपातिकमा पनि पहिलो भएको छ ।
एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा नेपाली कांग्रेसले भन्दा ११ हजार ४६ मत बढी ल्याएको छ । एमालेले ५७ हजार एक सय नौ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ४६ हजार ३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ माओवादी केन्द्र आठ हजार ३० मतसहित तेस्रो भएको छ । विवेकशील साझा पार्टीले एक हजार ९ सय १३ र मङ्गोल नेशनल अर्गनाइजेसन पाल्पाले एक हजार आठ सय पाँच मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले नौ सय ४८ र राष्ट्रिय जनमोर्चाले सात सय ३४ मत ल्याएको छ ।
प्रदेश सभा १ (ख) मा पनि एमालेले पाल्पामा सबैभन्दा धेरै १२ हजार आठ सय ८७ मत ल्याएर पहिलो भएको छ । नेपाली कांग्रेसले नौ हजार ६ सय ५३ र माओवादी केन्द्रले एक हजार दुई सय ३४ मत ल्याएको छ ।
प्रदेशसभा १(क)मा एमालेको १६ हजार पाँच सय ९७, नेपाली कांग्रेसको १२ हजार छ सय २२ र माओवादी केन्द्रले छ सय ८४ मत प्राप्त गरेको छ ।
पाल्पा क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा एमालेको १४ हजार ९ सय ७३, कांग्रेसको १२ हजार ४ सय ५६ र माओवादी केन्द्रको एक हजार ६ सय ८९ मत आएको छ । प्रदेशसभा २ (ख) मा एमालेको १० हजार ६ सय ४८, कांग्रेसको १० हजार एक सय ४७ र माओवादी केन्द्रको पाँच हजार ९६ मत आएको निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।
प्रदेशसभातर्फ पनि माओवादी केन्द्रपछि विवेकशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेश्नल अर्गनाइजेसन पार्टीले मत ल्याएका छन् ।
पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा स्थानीय तहमा भन्दा पाँच प्रतिशत कम मतदाताले मतदान गरेका थिए ।

 

 

Share It

Post Comments
थप समाचार