समाचार आफ्नै स्वकीय सचिवसँग हारे पूर्व मन्त्री
Ujyaalo

नवराज पनेरु/उज्यालो ।

धनगढी, मंसिर २७ – नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका पूर्व मन्त्री आफ्नै सहयोगी (पिए) सँग पराजित हुनुभएको छ । कांग्रेसबाट उम्मेदावरी दिनुभएका पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौर आफ्नै पूर्व पिएसँग चुनावी प्रतिस्पर्धामा पराजित हुनुभएको हो ।

एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नेता राठौरलाई कांग्रेसको संसदीय समितिको बैठकले प्रतिनिधिसभाका लागि कैलाली क्षेत्र नम्बर २ बाट टिकट दिने निर्णय गरेसँगै उहाँको प्रतिस्पर्धा आफ्नै पिए एमाले नेता झपट रावलसँग पक्का भएको थियो ।

राठौर आफ्ना पिए झपट रावलसँग १८ सय ४४ मतले पराजित हुनुभएको हो । रावलले २५ हजार १ सय ५७ मत पाउनुभयो भने राठौरले २३ हजार ३ सय १३ मत पाउनुभयो । संविधानसभाको पहिलो चुनावअघि बनेको अन्तरिम सरकारमा राठौर शिक्षा राज्यमन्त्री भएका बेला झपट रावल उहाँका पिए हुनुहुन्थ्यो ।

प्रतिनिधिसभाको टिकटसहित कांग्रेस प्रवेश गर्नुभएका राठौरले आफूलाई आफ्नै दलका ठूला नेताहरुले लखेटेकाले कांग्रेस प्रवेश गरेको बताउँदै आउनुभएको छ । टिकटका लागि सिफारिस गर्ने बेला एमालेको क्षेत्रीय कमिटिले नै राठौरको नाम सिफारिस गरेको थिएन ।

उहाँले पार्टीका प्रदेश कमिटिमा आफूमाथि अन्याय भएको भन्दै निर्णय पुनर्विचारका लागि निवेदन पनि दिनुभएको थियो ।

Share It

Post Comments
थप समाचार