समाचार विजय उत्सवमा कसैलाई गाली नगरौं : गोकर्ण विष्ट
Ujyaalo

गुल्मी मंसिर २७ – नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले विजय उत्सवमा लगाइने नारा तथा भाषणमा कसैलाई गाली नगर्न आग्रह गर्नुभएको छ । निर्वाचित भइसकेपछि बुधबार मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेका विष्टले आफू जनप्रतिनिधि भएको भन्दै विजय उत्सव मनाउँदा कसैलाई गाली नगर्न आग्रह गर्नुभयो ।
उहाँले अबको पाँच वर्षमा आफ्नो निर्वाचन क्षेत्रको मुहारै फेरिने गरी काम गर्ने बताउनुभएको छ । ‘देश र नागरिकको पक्षमा केही गरेर देखाउने समय आएको छ’ उहाँले भन्नुभयो ‘अब हामीले केही गरेनौ भने फेरि भोट माग्न आउने कुनै बाटो हुँदैन ।’
चुनावी प्रतिबद्धतामा जिल्लाभित्र रहेको बाटो, खानेपानी, शिक्षा, विद्युत लगायतका विकासका पुर्वाधारलाई आफूले प्राथमिकतामा राखेको उहाँको भनाई छ । ‘यो जितले थप जिम्मेवारपनको अझ बढी बोध गराएको छ’ विष्टले भन्नुभयो, ‘अब जिल्लाका विकासका काम यसरी अगाडि बढ्छन कि फेरि आउदाँ भोट माग्न नपरोस् ।’
अबको १५ दिनभित्र सवैको घरमा बिजुली, दुई वर्षभित्र गाउँपालिका तथा चार वर्षमा वडाकेन्द्रसम्म पुग्ने बाटो पिच गर्ने, एक घर–एक धारा जस्ता विकासका कामलाई प्राथमिकतामा राखेको विष्टको भनाई छ । विष्टले आफूलाई भोट नदिनेको लागि पछुतो हुनेगरी काम गर्ने बताउनुभयो ।

Share It

Post Comments
थप समाचार