समाचार रेशम चौधरीको प्रमाणपत्र निर्वाचन आयोगमा पठाइयो
Ujyaalo

नवराज पनेरु/उज्यालो ।

कैलाली, मंसिर २७ –कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीको प्रमाणपत्र निर्वाचन आयोग काठमाडौं पठाइएको छ ।

दुई दिन भित्र रेशम आफै उपस्थीत भई प्रमाणपत्र लिन नआए निर्वाचन आयोगले उक्त प्रमाणपत्र काठमाडौं पठाइदिन जिल्ला स्थित निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको थियो । तर विजयी घोषणा भएको दुई दिनसम्म पनि रेशम नआएकोले बुधवार साँझ उक्त प्रमाणपत्र आयोगको काठमाडौंस्थित कार्यालयमा पठाइएको निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिनुभयो ।

उम्मेदवार आफै उपस्थित भएमा मात्रै प्रमाणपत्र दिनु नत्र काठमाडौं पठाइदिनु भनेर निर्वाचन आयोगले निर्देशन दिए अनुसार आयोगमा पठाइएको निर्वाचन अधिकृत भुषालले बताउनुभयो । निर्वाचन आयोगले रेशमको प्रमाणपत्र प्रतिनिधिसभामा पठाउने जनाईएको छ । टिकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका चौधरी २६ महिनादेखि फरार छन ।

चौधरीको इन्द्र चौधरीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराइएको थियो । रेशमका समर्थकहरुले डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमाणपत्र वारेश गणेशदत्त पन्तले बुझेर लगेकाले आफूहरुले पनि प्रमाणपत्र पाउनुपर्ने माग गरिरहेका छन ।

 

Share It

Post Comments
थप समाचार