समाचार किन भयो रामेछापमा ३० हजार मत बदर ?
Ujyaalo

दीपक भट्ट/उज्यालो ।

रामेछाप, मंसिर २८ –पहिलो चरण अन्तर्गत रामेछापमा मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा खसेको मतको झण्डै ३० हजार मत बदर भएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ ८८ हजार ७ सय ८१ मत खसेकामा ५ हजार ६ सय ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षमा सदर मत ८३ हजार १ सय ३० रहेको छ ।

त्यसैगरी प्रदेशसभा अन्तर्गत ‘क’ मा रहेका कुल मतदाता ७३ हजार १ सय ६७ मध्ये प्रत्यक्षतर्फ ४३ हजार ७८ मत खसेकोमा सदर मत ४० हजार ९० रहेको छ भने २ हजार ९ सय ८८ मत बदर भएको छ ।

त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ ७९ हजार ३ सय ९२ मतदाता रहेकोमा ४३ हजार ८ सय ३ मत खसेको थियो भने २ हजार ९३ मत बदर हुँदा ४१ हजार ७ सय १० मत मात्र सदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फ खसेको कुल मत ८८ हजार ७ सय ८१ मध्ये १० हजार ७ सय ३२ मत बदर भएको छ । बदर मत खसेको कुल मतको १२.०८ प्रतिशत हुन आउँछ ।

रामेछापको समानुपातिकको बदर मत भने प्रत्यक्षको भन्दा दोब्बर रहेको छ । प्रतिनिधिसभाको सामानुपातिक तर्फ ८८ हजार ७ सय ४३ मत खसेकोमा १० हजार ६६ मत बदर भएको छ । त्यसैगरी दुई वटा प्रदेशसभाको समानुपातिकतर्फ १४ हजार २ सय ७० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक अन्तर्गतको बदर मत संख्या कुल खसेको मतको १४.२८ प्रतिशत हो ।

सरकारले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्नु र राजनीतिक दलहरुले पनि चुनावी प्रचारको क्रममा मतदातालाई भोट हाल्ने तरिका नसिकाउनु नै धेरै मात्रामा मत बदर हुनुको प्रमुख कारण भएको मन्थली नगरपालिका वडा नम्बर १ का मतदाता नारायण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ निर्वाचन आयोगका चरम लापरवाहीका कारण मतदाताले सही ढंगले आफूले रोजेको उम्मेदवारलाई दिएको मत बदर हुन पुगेको हो ।

निर्वाचन आयोगले मात्रै होइन, दलहरुले पनि कसरी भोट हाल्ने भन्ने नसिकाएकाले ठूलो संख्यामा मत बदर भएको मतदाताहरुको गुनासो रहेको छ ।

 

 

Share It

Post Comments
थप समाचार