समाचार पर्वतमा २२ जना उम्मेदवारको धरौटी जफत
Ujyaalo

सन्तोष थापा/उज्यालो ।

पर्वत, मंसिर २८ –प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्वतमा २२ जना उमेदवारको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेका कारण २२ जना उमेदवारको जमानत जफत भएको हो ।

पर्वत जिल्लामा प्रतिनिधिसभामा २ जना र प्रदेशसभा क र ख मा पनि २/२ जना मात्र उमेदवारले जमानत बचाउन सकेका छन् । बाँकी सबै उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ । प्रतिनिधिसभामा पराजित भएका अर्जुनप्रसाद जोशी तथा प्रदेसभामा पराजित भएका नवराज गुरुङ्ग र राजेन्द्र तिवारीको मात्रै जमानत बचेको छ ।

पर्वतको प्रतिनिधिसभामा १४ जना उम्मेदवार चुनावी मैदानमा थिए भने प्रदेशसभा क मा ६ जना र प्रदेशसभा २ मा ८ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।  कार्यालयका अनुसार पर्वतमा प्रतिनिधिसभा र प्रदेसभातर्फ ६९ हजार ८ सय ६३ मत खसेको थियो । त्यसमध्ये प्रतिनिधिसभामा ६७ हजार ५ सय ८२ मत सदर भएको थियो भने २ हजार २ सय ८१ मत बदर भएको थियो ।

जमानत जफत भएका मध्ये प्रतिनिधिसभा नेकपा मालेका हरिहर थापाले ५ सय ९९, राष्ट्रिय जनमुक्ति पार्टीकी मानकुमारी पाइजाले २ सय ५५ तथा राष्ट्रिय जनमोर्चाका गोविन्द पौडेलले २ सय ३४ मत पाएका थिए । प्रदेशसभा क तर्फ ३८ हजार ७ सय २७ मत सदर भएको थियो भने २९ हजार ५ सय ८४ मत सदर भएको थियो । प्रदेशसभा क मा ४ जना र प्रदेशसभा ख मा ६ जना उमेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । 

 

Share It

Post Comments
थप समाचार