समाचार ३२ जिल्लामा आज चुनाव, ७ सय २ उम्मेदवार प्रतिस्पर्धामा
Ujyaalo

काठमाडौं, मंसिर १० – प्रतिनिधिसभा र प्रदेशसभाको ३२ जिल्लामा आइतबार हुने चुनावमा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


प्रतिनिधिसभाका लागि ३७ चुनाव क्षेत्रमा १६ जना महिलासहित २८२ जना चुनावी मैदानमा छन् । त्यस्तै, प्रदेशसभाका लागि ७४ चुनाव क्षेत्रमा २० जना महिलासहित ४२० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


प्रतिस्पर्धी मध्ये प्रत्यक्षतर्फको चुनावबाट प्रतिनिधिसभाका लागि ३७ जना र प्रदेशसभामा ७४ जना निर्वाचित हुनेछन् । प्रदेश नम्बर १ का ७ वटा, प्रदेश नम्बर ३ का ६ वटा, प्रदेश नम्बर ४ का ६ वटा, प्रदेश ५ का २ वटा, प्रदेश ६ का ७ वटा र प्रदेश ७ का ४ वटा जिल्लामा आइतबार चुनाव हुँदैछ ।


प्रदेश १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा आइतबार चुनाव हुँदैछन् । त्यसैगरी प्रदेश ३ को नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ को पूर्वी रुकुम र रोल्पा, प्रदेश ६ को पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, कालिकोट र डोल्पा तथा प्रदेश ७ को दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि चुनाव हुँदैछन् ।


चुनावका लागि दुई हजार ९१४ मतदानस्थलमा चार हजार ६०५ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेश १ मा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका १४ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । ती जिल्लामा ६९६ मतदानस्थल र एक हजार २५ मतदान केन्द्र तोकिएको छ । प्रदेश १ बाट पहिलो चरणमा सात लाख १९ हजार १७६ मतदाताले मतदान गर्दै छन् ।


त्यसैगरी प्रदेश ३ मा ६ जिल्लाका ९ प्रतिनिधिसभा र १८ प्रदेशसभा चुनाव क्षेत्रमा मतदान हुनेछ । प्रदेश ३ मा ६ सय मतदानस्थल र एक हजार २४६ मतदान केन्द्र तोकिएका छन् । यो प्रदेशबाट १० लाख एक हजार ४० मतदाता मतदान प्रक्रियामा सहभागी हुनेछन् ।


त्यस्तै प्रदेश ४ बाट पहिलो चरणमा ६ जिल्लाका ८ प्रतिनिधिसभा र १६ प्रदेशसभा चुनाव क्षेत्रमा मतदान हुनेछ । प्रदेश ४ मा ५७६ मतदानस्थल र ८१७ मतदान केन्द्र तोकिएको छ । यो प्रदेशमा पाँच लाख ६३ हजार २४ मतदाता मतदान प्रक्रियामा सहभागी हुनेछन् ।


प्रदेश ५ बाट दुई जिल्ला प्रतिनिधिसभाका दुई र प्रदेशसभाका ४ चुनाव क्षेत्रमा मतदान हुनेछ । प्रदेश ५ मा १११ मतदानस्थल र २०१ मतदान केन्द्र कायम भएका छन् । पहिलो चरणमा यो प्रदेशका एक लाख ५५ हजार ५५७ मतदाता सहभागी हुँदैछन् ।


प्रदेश ६ मा पहिलो चरणमा ७ जिल्लाका ७ प्रतिनिधिसभा र १४ प्रदेशसभा चुनाव क्षेत्रमा मतदान हुनेछ । यहाँ ५११ मतदानस्थल र ६०४ मतदान केन्द्र तोकिएका छन् । यो प्रदेशबाट पहिलो चरणमा तीन लाख ६८ हजार २०७ मतदाता मतदानमा सहभागी हुने भएका छन् ।


प्रदेश ७ मा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा चुनाव क्षेत्रका लागि मतदान हुने भएको छ । यो क्षेत्रमा ४२५ मतदानस्थल र ५७१ मतदान केन्द्र तोकिएका छन् । पहिलो चरणमा प्रदेश ७ बाट तीन लाख ८४ हजार ९४१ जनाले मतदान प्रतिक्रयामा भाग लिनेछन् । जम्मा मतदाता ३१ लाख ९१ हजार ९४५ रहेका छन् ।

Share It

Post Comments
थप समाचार