समाचार पहिलेका चुनावमा तनाव हुने दोलखामा शान्तिपूर्ण रुपमा मतदान सुरु
Ujyaalo

दोलखा, मंसिर १० – दोलखामा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।


यसअघिका चुनावमा मतदान सुरु हुने समयमा मतदान स्थलमा तनाव हुने गरेकोमा अहिलेको त्यस्तो कुनै गतिविधि नभएको कार्यालयको भनाई छ ।
दोलखामा सबैभन्दा पहिला बैत्यश्वर गाउँपालिका वडा नम्बर १ गैरिमुदीस्थित पिपलडाँडामा मतदान सुरु भएको थियो ।

जहाँ स्थानीय तहको चुनावमा तनाव सिर्जना भएको थियो । यसैगरी गौरीशंकर गाउँपालिकाको जुँगुस्थित सेतीदेवी प्राथमिक विद्यालय मतदान केन्द्रमा नेकपा माओवादीका नेतृ एवम् पूर्व राज्यमन्त्री देवी खड्काले मतदान गरेर मतदान सुरु भएको छ ।


६ बजेदेखि नै मतदाता मतदानका लागि घरबाट निस्केका थिए । अशक्त, वृद्धवृद्धा, गर्भवती महिलालाई विशेष प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिनुभयो ।


प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि दोलखाबाट ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७३ हजार ८ सय ७८ पुरुष र ७४ हजार ४५ जना महिला गरी एक लाख ४७ हजार ९ सय २३ जना सहभागी हुँदैछन् ।

स्थानीय तह चुनावमा दोलखाका एक लाख ३३ हजार ४ सय ८४ जना सहभागी भएका थिए । मतदाताको संख्या बढेसँगै जिल्लामा १२ मतदान केन्द्र थप गरिएको छ ।

 

Share It

Post Comments
थप समाचार