समाचार बझाङमा नेकपा कार्यकर्ता खोज्दै प्रहरी
Ujyaalo

बझाङ, मंसिर ५ – देशका विभिन्न ठाउँमा उम्मेदवार लक्षित आक्रमणका घटना बढेसँगै जिल्ला प्रहरी कार्यलय बझाङले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी तीव्र पारेको छ । प्रहरीले बझाङमा रहेका विप्लवका नेता कार्यकर्ताका घर तथा डेरामा खानतलासीसमेत गर्न थालेको छ । 

यसै क्रममा वित्थड चिर गाउँपालिकाका हरिदत्त अवस्थीलाई नेकपा समर्थक भन्दै प्रहरीले गिरफ्तार गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यलयले नेकपाका जिल्ला कमिटी सदस्य जोग कठायतलाई पक्राउ गरी हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान र दिउँसो जिल्लाभर पहिचान भएका विप्लवका कार्यकर्ताको घर र डेरामा खानतलासी गरे पनि कसैलाई पक्राउ गर्न नसकेको स्थानीय बासिन्दाको भनाई छ । प्रहरीले नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सभासद शंकर खड्का, केन्द्रीय जनपरिषद् सल्लाहकार सदस्य धनबहादुर मल्ल, जिल्ला जनपरिषद् बझाङका अध्यक्ष चन्द्रजंग बहादुर सिंह, अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवालय सदस्य भरत मल्लको घरमा समेत खानतलासी गरेको थियो ।

प्रहरी आउनुपूर्व नै सूचना पाएका उनीहरु घर छोडी भागिसकेका कारण गिरफ्तार गर्न नसकिएको प्रहरी स्रोतले बताएको छ । बिनाकुनै अपराध प्रहरीले धरपकड सुरु गरेको भन्दै नेकपाका नेता कार्यकर्ताले आक्रोश पोखेका छन् । ‘बझाङमा न कुनै घटना भएको छ । न हाम्रो त्यस्तो केही योजना छ ’ जिल्ला जनपरिषद अध्यक्ष चन्द्रजंगबहादुर सिंहले भन्नुभयो, ‘राज्यले हतास मानसिकताका साथ हामीमाथी दमन गरिरहेको छ ।’

यस्तै विद्यार्थी नेता भरत मल्लले पनि राज्यले विनाकारण दमन गरे आफूहरु प्रतिकारमा उत्रन बाध्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरभित्र पसेर विनाकारण प्रहरीले ज्यादती सुरु गरेको छ । यस्तै हर्कत जारीरहे हामी प्रतिकार गर्न बाध्य हुनेछौं ।’ 

यता प्रहरी नायव उपरीक्षक ऋषिराम कंडेलले केन्द्रीय निर्देशन बमोजिम नै विप्लव कार्यकर्ताको खोजी प्रहरीले गरिरहेको बताउनुभयो । ‘निर्वाचनमा सुरक्षा खतरा देखिएका कारण हामीले जिल्लाभर खोजी अभियान सुरु गरेका छौं । यो केन्द्रको निर्देशन अनुसार गरिएको कारवाही हो’ उहाँले भन्नुभयो, ‘पक्राउ परेका दुबै जना नेकपा समर्थक हुुन कि होइनन् भन्ने प्रमाणित हुन बाँकी छ । अनुसन्धान भइरहेको छ ।’

Share It

Post Comments
थप समाचार