समाचार लमजुङका उम्मेदवार भन्छन् – ‘खासै सुरक्षा थ्रेट छैन’
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर ५ – लमजुङमा विभिन्न दलका प्रतिनिधिहरुले सुरक्षा थ्रेट नभएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयको सभाहलमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, एआइजी कमलसिंह बम लगायतको टोलीसँगको अन्तक्र्रियामा बोल्दै राजनीतिक दलका प्रतिनिधिहरुले सुरक्षा थ्रेट नरहेको बताएका हुन् ।

अन्तक्र्रियामा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेलले जिल्लामा दल तथा दलका उम्मेदवारलाई खासै थ्रेट नभएको बताउनुभयो । यस्तै, जनसमाजवादी पार्टीका प्रतिनिधि सूर्यबहादुर बुढापृथीले प्रचारप्रसारको क्रममा जिल्लामा केही कुनै पक्षबाट बाधा नभएको र दलबीचमा झैझगडा नभएको उल्लेख गर्नुभयो । राजनीतिक दलले सुरक्षा थ्रेट नरहको भने पनि केही दिनअघि सदरमुकाम बेँसीसहर बजारमा भेटिएको बमलाई सेनाले निष्क्रिय पारेको थियो ।

विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार निर्देश सिलवालले केही ठूला दलहरुले आचारसंहिता विपरित उलेख्य संख्यामा गाडीको प्रयोग गरी प्रचारप्रसारमा जुटेको आरोप लगाउनुभयो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले जिल्लामा कोही शंकास्पद व्यक्ति भेटिए सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गर्नुभयो । पौडेलले चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सबैलाई अनुरोध गर्नुभयो । निर्वाचन आयोगका लागि सबै दल बराबर रहेको बताउँदै शान्तिपूर्ण वातावरणमा प्रत्यक नागरिकले आफूले इच्छाएको दल तथा दलको उम्मेदवारलाई मत प्रदान गर्ने अवसर प्रदान गर्न आयोगको र दलले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जिल्लामा दलहरुका बीचमा कुनै झैझगडा नभएको बताउनुभयो । जिल्लाको सबै स्थानमा राजनीतिक दल शान्तिपूर्ण रुपमा चुनावी अभियानमा जुटेको मैनालीले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार