समाचार बझाङमा ५२ हजार मत खस्यो
Ujyaalo

डीबी विष्ट/उज्यालो ।
बझाङ, मंसिर १०– बझाङमा दिउँसो तीन बजेसम्ममा झण्डै ५२ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले ५० प्रतिशत अथवा झण्डै ५२ हजार मत खसिसकेको जानकारी गराएको हो । बझाङमा एक लाख ४ हजार ७ सय ७५ जना मतदाता रहेको छन् ।

जिल्ला निर्वाचन अधिकारी धुव्र कुमार भण्डारीका अनुसार विहान जाडोका कारण मतदाता कम आएपनि अहिले बढेका छन् । जिल्लाका १ सय ६० मतदान केन्द्रमा अहिले शान्तिपूर्ण वातावरणमा मतदान भैरहेको बताउनुभयो ।

चार ठाउँमा बम विस्फोट

बझाङका ४ वटा मतदान केन्द्रमा बम विस्फोट भएको छ । छबीसपाथीभेरा गाउँपालिका ४ मा रहेको जनता आधारभुत विद्यालय बागमाडु मतदान केन्द्र भन्दा ४ सय मिटर पर अज्ञात समुहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यस्तै छविस पाथीभेरा गाउँपालिका ५ थलारा निमावि व्यासीको मतदान केन्द्र भन्दा १ किलो मिटर टाढा पर्ने जंगलमा पनि बम विष्फोट भएको छ ।

यस्तै सदरमुकाम चैनपुर बजार नजीकै रहेको संग्राम सार्दुल गुल्म भन्दा करिब १ सय मिटर नजिकै रहेको सत्यबादी उच्चमावि मतदान केन्द्र नजिकैको सडकमा टाइम बम फेला परेको छ । बम प्रहरी र नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बम नजीक विप्लव समुहको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै बुंगल नगरपालिका कन्या मावि बटुलसेरामा रहेको मतदान केन्द्र नजीकै बम विष्फोटन भएको छ । रातो शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी तथा नेपाली सेनाको टोली पुग्नु पहिल्यै बम विष्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् ।

विभिन्न ठाउँमा विस्फोट भए पनि कुनै पनि क्षति भने नभएको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले जानकारी दिनुभयो ।

यस्तै रातो कपडामा बम लेखेर बालुवाको पोको बनाएर राखेको पनि फेला परेको छ । खप्तड छान्ना गाउपालिका कालुखेतीको खापरदेब मतदान केन्द्र भन्दा १० मिटर टाढा बालुवाको पोका फेला परेको हो । बम लेखिएको देखे पछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । निस्क्रिय गर्ने क्रममा पोकोमा बालुमा फेला परेको थियो ।

 

Share It

Post Comments
थप समाचार