समाचार मनाङमा मतदान अन्तिम चरणमा, अति संवेदनशील मतदानस्थलका मतपेटिका सोमबार हेलिकप्टरबाट ल्याइने
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर १० – हिमाली जिल्ला मनाङमा मतदान अन्तिम चरणमा पुगेको छ । सबैभन्दा कम मतदाता रहेको मनाङमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान अन्तिम चरणमा पुगेको मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो ।

यहाँका ५ मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएको छ । सुरक्षा समिति मनाङले नार फू गाउँपालिकाका ५ वटा मतदानस्थललाई अति संवदेनशील सूचिमा राखेको हो । यी क्षेत्रको मतपेटिका सोमबार हेलिकप्टरबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइने पनि उहाँले बताउनुभयो ।

मनाङमा शान्तिपुर्ण रुपमा मतदान भएको उहाँले बताउनुभयो । चार गाउँपालिका रहेको मनाङमा कुल मतदाता संख्या ५ हजार ८ सय ८१ रहेको छ । यहाँ २८ मतदान केन्द्र रहेका छन् । चुनावमा सुरक्षाका लागि ६ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मनाङमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र वाम गठबन्धनबाट एमालेका पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा आमनेसामने हुनुभएको छ ।

प्रदेशसभा ‘क’ मा कांग्रेसका चिन्तबहादुर घले र एमालेका दोर्जे डेण्डुल गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी प्रदेशसभा ‘ख’ मा एमालेबाट आधिकारिक रुपमा टिकट पाएकी खण्डा लामाले उम्मेदवारी फिर्ता लिएसँगै स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनिने राजिव गुरुङ र कांग्रेसका कर्म गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

 

Share It

Post Comments
थप समाचार