समाचार दोलखामा रोचक भिडन्त, नयाँ र पुराना उम्मेदवार एकै स्थानमा
Ujyaalo

दोलखा, मंसिर ५ – दोलखाका उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्नका लागि चुनावी सभासहित घरदैलो अभियानमा व्यस्त छन् ।
पहिलो चरणको चुनाव आउन ५ दिन मात्रै बाँकी रहँदा उम्मेदवारहरुलाई भ्याइनभ्याई छ । मतदाता रिझाउन उम्मेदवारहरु चुनावी एजेण्डासहित गाउँगाउँमा पुगेका छन् ।

एक प्रतिनिधिसभाका लापग ११ जना विभिन्न राजनीतिक दल र ४ जना स्वतन्त्र गरी १५ जना प्रतिस्पर्धामा छन् । प्रदेशसभा अन्र्तगत क्षेत्र नम्बर १ का लागि ७ जना विभिन्न राजनीतिक दल र ५ जना स्वतन्त्र गरी १२ जना चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ का लागि ८ जना राजनीतिक दल र ३ जना स्वतन्त्र गरी ११ जना प्रतिस्पर्धामा छन् ।

यद्यपी मुख्य प्रतिस्पर्धा भने वाम गठबन्धन र नेपाली कांग्रेस बिच हुने देखिएको छ । गत स्थानीय तहको चुनावमा ९ तह मध्ये नेकपा एमालेले सात तहमा विजयी हाँलिस गरेको र दुई तहमा कांग्रेस माओवादी गठबन्धनले विजयी हाँसिल गरेको थियो । वाम गठबन्धनका तर्पmबाट प्रत्यक्ष तर्फका ३ जना उम्मेदवार संसदीय चुनावमा उत्रिसकेका छन् भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका ३ जना उम्मेदवार नयाँ हुन् ।
यस्ता छन् उम्मेदवार

वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका पार्वत गुरुङ जिल्लाका प्रभावशाली नेता मानिन्छन् । गत संविधान सभा चुनावमा दोलखा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका जिपछिरिङ लामालाई पराजित गराउँदै निर्वाचित हुनुभएका गुरुङ नेकपा एमालेका केन्द्रित सदस्य समेत हुनुहुन्छ । गुरुङसँग प्रतिस्पर्धा गर्न लाग्नुभएका नेपाली कांग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्का भने पहिलो पटक संसदीय चुनाव लड्दै हुनुहन्छ । कांग्रेस राजनीति छाडेर माओवादी सशस्त्र द्धन्द्धको बेला अमेरिका बस्नुभएका खड्का बृहत शान्ति सम्झौता पश्चात पुन दोलखा फर्किए पछि कांग्रेस राजनीति सुरु गर्नुभएको हो । खड्का २०४९ सालको स्थानीय चुनाव पश्चात ३२ वर्षको उमेरमा जिविस सभापति बन्नुभएको थियो । खड्का हाल नेपाली कांग्रेस दोलखाका सभापति समेत हुनुहुन्छ ।

प्रदेशसभाका लागि दुई वटा क्षेत्र रहेको दोलखामा वाम गठबन्धन अन्तर्गत प्रदेशसभाको लागि दोलखा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रको तर्फबाट विशाल खड्का चुनावी मैदानमा उत्रनुभएको छ । खड्का गत संविधान सभाको चुनावमा दोलखा क्षेत्र नम्बर १ बाट चुनाव लड्नुभएको थियो । २०७० सालको चुनावमा उहाँ नेकपा एमालेका पार्वत गुरुङसँग पराजीत हुनुभएको थियो । खड्कासँग गत स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष पदमा पराजित हुनुभएका नेपाली कांग्रेसका बर्मा लामा चूनाव लड्दै हुनुहुन्छ । लामा मेलुङ गाउँपालिको अध्यक्ष पदमा पराजित बन्नुभएको थियो । नेपाली कांग्रेसमा लामो समय काम गर्नुभएका लामा स्थानीय तहको चुनावमा पराजित भएर पनि संसदीय चुनावमा टिकट पाउने भाग्यमानी नेता बन्नुभएको छ ।

दोलखा क्षेत्र नम्बर २ मा भने प्रदेश सभाका लागि वाम गठनबन्धनबाट उम्मेदवार बन्नुभएका पशुपति चौलागाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुनुहुन्छ । गत संविधान सभा चुनाव पश्चात समानुपाति तर्फबाट संविधानसभा सदस्य बन्नुभएका चौलागाई पनि प्रभावशाली मानिन्छन् । निर्वाचित भएमा प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको दाबी गर्ने हैसियत बोकेका चौलागाईसँग नेपाली कांग्रेसको तर्फबाट महासमिति सदस्य केशव चौलागाई प्रतिस्पर्धामा उत्रनुभएको छ । नेपाली कांग्रेस दोलखाका जिल्ला पार्टी सचिवसम्म बन्नुभएका चौलागाई पहिलो पटक संसदीय चुनावी मैदानमा उत्रनुभएको हो । नेकपा एमालेको वर्चश्व रहेको क्षेत्र नम्बर २ मा वाम गठबन्धनसँग उहाँको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 

Share It

Post Comments
थप समाचार