समाचार दाङमा विप्लवका २० कार्यकर्ता पक्राउ
Ujyaalo

दाङ, मंसिर ५ – आसन्न चुनावलार्ई मध्यनजर गरी दाङ प्रहरीले सुरक्षा व्यवस्था चुस्त पार्न भन्दै नेपाल कम्युनिष्ट पार्टीका २० जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानहरुबाट पछिल्लो एक हप्तामा नेपाल कम्युनिष्ट पार्टीका २० कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । देशका विभिन्न स्थानमा चुनाव विरोधी गतिविधिमा संलग्न आशंका गरिएका नेकपाका कार्यकर्तालाई दाङमा पनि प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

बुधवार वाम गठबन्धनले दाङको घोराहीमा आयोजना गरेको आमसभालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, एमाले नेता शंकर पोख्रेललगायतका नेताले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा एमाले नेता शंकर पोख्रेल चुनाव लड्दै हुनुहुन्छ ।

उहाँहरुको क्षेत्र पर्ने घोराहीमा बुधवार वाम गठबन्धले आमसभाको आयोजना गरेको छ । आफ्ना कार्यकर्तालाई बिनाकारण पक्राउ गरिएको भन्दै नेकपाले बुधबार दाङ बन्दको आह्वान गरेको छ ।

Share It

Post Comments
थप समाचार