समाचार गोरखामा ६२ प्रतिशत मात्रै मत खस्यो
Ujyaalo


किरण लोहनी उज्यालो ।

गोरखा, मंसिर १० – गोरखामा आइतबार भएको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव शान्तिपूर्ण रुपमा सकिएको छ । बिहान ७ वजेबाट सुरु भएको मतदान शान्तिपूर्ण रुपमा सकिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।

चुनाव सम्बन्धी सुरक्षा योजनामा गोरखालाई अति संवेदनशीलको सूचिमा राखिएको थियो । त्यही अनुसार सुरक्षा रणनीति बनाइएको र उम्मेदवार र दलहरुले पनि सहयोग गरेकाले मतदानका क्रममा कुनै अप्रिय घटना हुन नपाएको उहाँको भनाई छ ।

जिल्लाका २ सय ८२ मतदान केन्द्रमध्ये चुमनुब्री गाउँपालिका अन्तर्गतको ल्हो आधारभूत मतदान केन्द्रमा केही ढिलो मतदान सुरु भएको थियो । दलका प्रतिनिधिहरु समयमै नआइपुगेकाले त्यहाँ बिहान साढे ८ बजेतिरबाट मात्रै मतदान सुरु भएको थियो । त्यहाँ जम्मा २ सय ६४ मतदाता रहेका थिए ।

चुमनुब्रीकै ६ वटा मतदान केन्द्रमा १ सय भन्दा कम मतदाता रहेकाले दिउँसै मतदान सकिएको थियो । मतदान सकिएपछि अहिले मतपेटिका संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।


जम्मा ६२ प्रतिशत मात्रै मत खस्यो

आइतबार भएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा गोरखामा झण्डै ६२ प्रतिशत मात्रै मत खसेको अनुमान गरिएको छ । सबै मतदान केन्द्रको खसेको मतको विवरण प्राप्त नभैसके पनि प्रारम्भिक विश्लेषणमा कम्तिमा ६० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताउनुभयो ।

जिल्लामा कुल १ लाख ८९ हजार ४ सय ४८ मतदाता रहेका थिए । गएको वैशाखमा भएको स्थानीय तहको चुनावमा भन्दा २० हजार मतदाता थपिए पनि मतप्रतिशत भने घटेको हो । स्थानीय तहको चुनावमा जिल्लाभर ७२ प्रतिशत मत खसेको थियो । चुनावअघि भएको बन्दको हल्ला, प्रतिकुल मौसम लगायतका कारण कम मत खसेको राजनीतिक दलका प्रतिनिधिहरुको अनुमान छ ।

यसबाहेक गएको वैशाखमा मात्रै स्थानीय तहको चुनावमा भोट हालेका नागरिकले लगत्तै भएको प्रदेश र प्रतिनिधिसभा चुनावलाई चासोपूर्वक नलिएको पनि केहीको विश्लेषण छ । स्थानीय तहको चुनावमा आफ्नै गाउँठाउँका व्यक्तिलाई प्रतिनिधि चुन्न आतुर देखिए पनि प्रदेश र प्रतिनिधिसभाका सबै उम्मेदवारसँग अपनत्व नरहेकाले पनि भोट हाल्ने उत्साह कम देखिएको बताइएको छ ।


आज भएको प्रदेश र प्रतिनिधिसभा चुनावको मतगणना भने मंसिर २१ गते दोस्रो चरणको चुनाव पछि मात्रै सुरु हुने भएको छ । गोरखाकोे निर्वाचन क्षेत्र नम्बर १ को मतगणना महिला तथा बालबालिका कार्यालय र २ को जिल्ला समन्वय समितिको कार्यालय भवनमा गरिने भएको छ ।

जिल्लाभरबाट संकलन गरिएका मतपेटिका पनि निर्वाचन क्षेत्र अनुसार ति दुवै ठाउँमा राखिने प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले बताउनुभयो । १ नम्बर क्षेत्रको मतगणना महिला तथा बालबालिका कार्यालयको भूईँतल्ला र पहिलो तल्ला तथा २ को जिल्ला समन्वय समितिको कार्यालय भवनको माथिल्लो तलामा गरिने उहाँले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार