समाचार म्याग्दीमा ६३ प्रतिशत मत खस्यो, मतपेटिका सदरमुकामतर्फ ल्याइँदै
Ujyaalo

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, मंसिर १० – उच्च पहाडी जिल्ला म्याग्दीमा आइतबार सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६३ प्रतिशत मतदान भएको छ । शान्तिपूर्ण रुपमा सम्पन्न मतदानमा जिल्लाभर ६३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजे सम्पन्न भएको थियो । जिल्लाको विकट ठाउँ गूर्जा, कुईनेमङ्गलेमा रहेका केही मतदान केन्द्रबाट खसेको मतको विवरण आउन बाँकी रहे पनि झण्डै ६३ दशमलव ०२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत एवं म्याग्दीका जिल्ला न्यायाधीश राजकुमार कोइरालाले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार सबैभन्दा बढी बेनी नगरपालिकामा ६६ प्रतिशत मतदान भएको छ । यसैगरी रघुगंगा गाउँपालिकामा ६३, मंगलामा ६१, अन्नपूर्णमा ५९, धौलागिरिमा ५६ र सबैभन्दा कम मालिका गाउँपालिकामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ४५ हजार ७९४ मत खसेको छ भने केही ठाउँमा फोन सम्पर्क नहुँदा आधिकारीक विवरण आउन बाँकी रहेको उहाँको भनाई छ ।

गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा म्याग्दीमा कुल ६७ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केही प्रतिशत मत कम खसेको छ । जाडोको समय, भौगोलिक विकटता, मतदाता विदेशमा रहनु र निर्वाचनमा खटिएकाले मत हाल्न नपाउनुजस्ता कारणले मत प्रतिशत घटेको अनुमान गरिएको छ ।

यसपालीको चुनावमा जिल्लामा कुल ७५ हजार ५ सय ३८ जना मतदाता रहेकोमा ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी रहेका थिए । प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा विभिन्न दलका १३ जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् ।

 

Share It

Post Comments
थप समाचार